लकडाउनको अवधिमा ६ अर्ब बराबरको औषधि आयात

फाइलफोटो

काठमाडौं, ४ असार । सरकारले लकडाउन गरेयता जेठ मसान्तसम्म ५ अर्ब ९० करोड ९६ लाख रुपैयाँ बराबरको औषधि तथा औषधिको कच्चा पदार्थ आयात भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार लकडाउको अवधिमा सबैभन्दा धेरै औषधि र औषधिको कच्चा पदार्थ भित्रिएको हो ।

यस अवधिमा १ अर्ब ३३ करोड ६६ लाख १७ हजार रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ र ४ अर्ब ५७ करोड २९ लाख ९३ हजार रुपैयाँको तयारी औषधिको आयात तथ्यांकमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिनसक्ने भन्दै ११ चैत देखि सरकारले मुलुकभर लकडाउनगरेपनि अत्यावश्यक वस्तुको आयात भने नियमितरूपमा भइरहेको छ ।

यस अवधिमा सामान्य औषधिदेखि कोरोना नियन्त्रण तथा उपचारमा प्रयोग हुने पीपीई, ग्लोब्स्, लगायत विभिन्न किसिमका औषधि तथा उपकरण आयात गरिएको मन्त्रालयले जनाएको छ ।

चालू आवको जेठसम्ममा करिब २७ अर्ब रुपैयाँ बराबरको औषधि तथा औषधिजन्य वस्तुहरु आयात भएको छ ।

गत आर्थिक वर्षमा कुल २० अर्ब ११ करोड ८२ लाख रुपैयाँ बराबरको औषधि तथा औषधि जन्य वस्तुहरु आयात भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा कुल २७ अर्ब २७ करोड ७८ लाख रुपैयाँ बराबरको औषधि तथा औषधिजन्य वस्तु आयात भएको थियो ।

नेपालमा भारतबाट सबैभन्दा धेरै मात्रामा औषधि तथा औषधिजन्य वस्तु आयात हुने गर्छ । यस्तै, फ्रान्स, स्वीडेन, अमेरिक, चीन, पोर्चुगल, जर्मन, डेनमार्क, स्वीजरल्याण्ड, थाइल्याण्ड, इटली लगायतका देशहरुबाट पनि औषधि आयात हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here