कमोडिटी एक्सचेञ्जका लागि बोर्डमा परेका आवेदन रद्द, नयाँका लागि आव्हान

काठमाडाैं, १२ वैशाख । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालनका लागि पेस भएका सबै आवेदन रद्द गरेको छ ।

यसअघि परेका आवेदनहरुमा मापदण्ड नपुगेकाले खारेज गर्ने निर्णय भएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि पाँच कम्पनीले कमोडिटी एक्सचेन्जका लागि आवेदन गरेका थिए ।

‘वस्तु बजार सम्बन्धी नियमावली, २०७४ को नियम ५, बमोजिम ती कम्पनीहरुले सम्पूर्ण कागजात तथा विवरणहरु पेश गरेको नदेखिएकाले पाँचै निवेदकलाई बोर्डले पूर्व स्वीकृति प्रदान गर्न इन्कार गर्ने निर्णय गरेको छ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोवारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी हाललाई बोर्डबाट दुईवटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गरिने पनि बोर्डले बताएको छ ।

नयाँ आवेदन दिन चाहने आवेदकका लागि बोर्डले आव्हान समेत गरिसकेको छ । वस्तु विनिमय बजार संचालनका लागि पूर्व स्वीकृति प्रदान गर्दा प्रस्तावित कम्पनीको पूँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यताको आधारमा उत्कृष्ट दुईवटा आवेदकलाई छनौट गरिने विज्ञप्तिमा उल्लेख छ ।

हाल अस्वीकार भएका आवेदकले समेत पूर्व स्वीकृतिका लागि पुनः आवेदन दिन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here