निजी वनमा किसानको आकर्षण, धान खेत मासेर विरुवा रोप्दै

झापा ६ असार । झापामा धान खेत मासेर किसानले निजी वन लगाउन थालेका छन् । किसानले पछिल्लो समय निजी वनलाई बहुउत्पादनमूलक वनाएका छन् । जसबाट धान खेतीभन्दा बढी आम्दानी हुने गरेको छ । झापामा यस्ता किसानको सङ्ख्या ४३० पुगिसकेको छ ।

३० वर्षदेखिको जुत्ता चप्पलको व्यापार छाडेर काठमाडौँबाट गाउँ फर्किएका कनकाई नगरपालिका–६ का शान्तिराज प्रसाईले चार बिगाहा धान खेतलाई निजी कृषि वनमा रुपान्तरण गरेका छन् ।

उनले कृषि वनमा टिक, मसला, रक्तचन्दन र पाउलेनियाका विरुवा हुर्काएका छन् । ‘दिनमा एकपल्ट वनमा नगई चित्त बुझ्दैन, हरियाली बढेको छ, चरा चिरबिराउँछन्,’ सात वर्षदेखि कृषि वनमा रमाएका उनी भन्छन् ‘धान मात्र बाली होइन, अरु फलफूल लगाउँदा त्योभन्दा धेरै आम्दानी हुन्छ भनेर यता लागेको हुँ ।’

उनले हुर्किदै गरेका ठूला रुख भएको वनभित्रै बेसार, केरा, मेवा, कागती, लिची, आप, अनारलगायत विभिन्न जातका फलफूलका बगैँचासमेत लगाएका छन् ।

कृषि वनको जगेर्नाका लागि उनले पाथीभरा अग्र्यानिक कृषि प्रोडक्सन प्रालि नामक संस्था दर्ता गरेका छन् । ‘गर्दा हुँदोरहेछ, धान खेत मासेर कृषि वन शुरु गरे, सन्तुष्ट छु्,’ उनले भने, ‘अब वनभित्रै कुखुरा र हाँस पनि पाल्ने तयारीमा छु । थोरै जमिनबाट बहुआयमिक उत्पादन गर्न सकिँदोरहेछ ।’

शिवसताक्षी नगरपालिका–५ लामाटोलका किसान दयानन्द दाहाल, कनकाई नपा–६ का मोहनप्रसाद सुवेदीलगायतका किसानले पनि धान खेत मासेर वनसँगै कृषिजन्य उत्पादन गरिरहेका छन् ।

गौरादह–६ का दुर्गा प्रसाई निजी कृषि वन व्यवसायीे संस्थाको जिल्ला अध्यक्ष हुन्। उनले बुवाबाट अंशमा पाएको पाँच विगाहा जमिनमा धान खेत मासेरै कृषि वनको परियोजना सञ्चालन गरे । उनको वनमा यतिबेला टिक र मसलालगायतका विरुवा हुर्किसकेका छन् भने वनभित्रै काँक्रा, फर्सी, करेला, कागतीसमेत फलाएका छन् ।

उनले वनभित्रै पाडा र स्थानीय कुखुरा पालेका छन् । उनका दुई भाइले दाजुको सिको गर्दै कृषि वनसँगै व्यावसायिक माछापालन, बङ्गुर र पाडा पालेका छन् । झापा उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष मोहनप्रसाद सुवेदीले मुलुकमा जस्तोसुकै सङ्कट आउँदा पनि कृषि पेशा नै भरपर्दो र बलियो देखिएको बताए ।

उनले धान लगाउँदा उत्पादन कम र मजदूर अभाव हुने बताउँदै किसानले धान खेत मासेर धमाधम कृषि वनका रुपमा विकास गर्न थालेको बताए । कनकाई–६ मा उनको पनि निजी कृषि वन छ ।

नेपाल सरकारले निजी कृषि वनलाई थप प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण गर्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here