काठमाडौं महानगरभित्र कति सम्पत्ति हुनेले कति तिर्नुपर्छ कर ? (सूचिसहित)

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले नयाँ करको विवरण सार्वजनिक गरेको छ ।

महानगरपालिकाले बुधबार आर्थिक वर्ष २०७७/७८ को बजेटसँगै आर्थिक विधेयक र सम्पत्तिमा कति कर असूल गर्ने भनेर नयाँ करको दर सार्वजनिक गरेको हो ।

सार्वजनिक विधेयकमा १ करोड रुपैयाँ मूल्य बराबरको घर वा जग्गा छ भने आर्थिक वर्ष २०७७/७८ मा मूल्यको ०.०१० अर्थात् १ हजार रुपैयाँ सम्पत्ति करबापत महानगरलाई तिर्नुपर्ने उल्लेख गरिएको छ ।

२ करोडको घरजग्गा छ भने २५ सय, ३ करोडको छ भने ४५ सय, ४ करोडको छ भने ८५ सय, ५ करोडको छ भने १४ हजार ५ सय, ६ करोडको छ भने २४ हजार ५ सय तिर्नुपर्ने उल्लेख गरिएको छ ।

८ करोडको छ भने ८४ हजार ५ सय, १० करोडको छ भने १ लाख ७४ हजार रुपैयाँ सम्पत्ति कर तिर्नुपर्ने महानगरको आर्थिक विधेयकमा उल्लेख छ ।

यस्तै १० करोड रुपैयाँभन्दा माथि मूल्य पर्ने समपत्ति छ भने जतिसुकै भएपनि मूल्यको ० दशमलव ६० प्रतिशत कर तिर्नुपर्ने महानगरको आर्थिक विधेयकमा उल्लेख छ ।

त्यस्तै सर्वसाधारणको पार्किङ प्रयोजनका लागि व्यावसायिकरुपमा निर्माण गरिने भवनको हकमा निर्माण सम्पन्न भएको मितिले ५ वर्षसम्म सम्पत्ति कर नलिने महानगरले जनाएको छ ।

महानगरले कोरोना भाइरसका कारण सम्पत्ति करमा १० प्रतिशत छुट दिने स्किम पनि ल्याएको छ । जसअनुसार ०७७ पुस मसान्तभित्रमा दाखिला गर्नेले तिर्नुपर्ने रकमको १० प्रतिशत छुट पाउनेछन् ।

तर बक्यौतामा भने यो छुट लागू नहुने महानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here