प्रचारमुखी होइन, दीर्घकालीन योजना ल्याउ प्रदेशलाई प्रमको सुझाव

काठमाडौं, १४ बैशाख । प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट बनाउदा प्रचारमुखी भन्दा दीर्घकालिन योजनाहरुलाई प्रथामिकतामा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।

उनले तीनै तहका सरकारलाई एउटै योजनामा तानातान नगर्न सुझाव दिएका छन् ।

‘एउटै योजनामा तानातान होइन एउटा तहले सामेल गरेको योजना माथी अर्को तहले हस्तक्षेप गर्नु हँुदैन । सबैले समन्वय गरेर विकासका कामलाई अघि बढाउनु पर्दछ,’ शुक्रबार साँझ सिंहदरबारमा बसेको अन्तरप्रदेश परिषदको तेस्रो बैठकलाई सम्बोधन गर्दै उनले भने ।

एउटै योजनामा तानातान गर्ने भन्दा पनि तीनै तहका सरकारले समन्वय र योजना नदोहोरिने गरी बजेटमा समावेश गर्नुपर्ने उनको सुझाव छ ।

विकासका काममा पक्ष विपक्षमा बिभाजित हुनु नुहने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सबै मिलेर देशलाई समृद्ध बनाउने हो । यसमा पक्ष विपक्ष भइरहनु हुँदैन,’ उनले भने ।

सरकारको मुख्य लक्ष्य सुशासन सहित संघीयताको कार्यन्वयन र विकास भएको पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा संघीयताको अभ्यास नयाँ भएकोले यसमा अभ्यस्त हुने क्रममा कही कतै समस्या देखिएका कुरालाई अन्यथा लिनु नहुने पनि बताएका छन् ।

त्यसैगरी, योजना र बजेट जनसंख्याका आधारमा मात्र वितरण गर्ने हो भने दुर्गम क्षेत्रको विकास हुन नसक्ने उनको भनाइ छ ।

‘बजेट र योजना जनसंख्याको आधारमा मात्र होइन भौगोलिक अवस्था हेरेर पनि बिनियोजन गर्नुपर्दछ । विकट भौगोलिक क्षेत्रमा बस्ती पनि पातलो हुन्छ विकासको खर्च पनि महंगो हुन्छ । त्यसकारण एउटा मात्र आधारमा बजेट विनियोजन गर्ने हो भने त्यस्ता ठाउँका जनताले विकासको अनुभूित गर्न पाउँदैनन्,’ उनले भने ।

विकासको बाधकका रुपमा रहेका दुर्गम बस्तीहरुलाई एकिकृत गरिने प्रधानमन्त्रीले बताए । स्थानीय, प्रदेश र संघीय सरकारले संयुक्त रुपमा यस्ता बस्ती पहिचान गरेर एकिकृत गर्नु पर्ने उनको राय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here