काठमाडौं, १६ असार । दहीचिउरा खाने दिनका रुपमा हेरिएको असार १५ गते रु साढे पाँच करोडको दही बिक्री भएको छ । निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संथान (डिडिसी) बाट रु पाँच करोड ४६ लाख ६० हजारको दही बिक्री भएको जनाइएको छ ।
निजी क्षेत्रका दूग्ध व्यवसायको संस्था नेपाल डेरी एशोसिएशनबाट देशैभर चार लाख तीस हजार लिटर दही बिक्री भएको एशोसिएशनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए । उनका अनुसार बन्दाबन्दीका कारण गत वर्षको तुलनामा दहीको खपतमा कमी आए तापनि तीन गुणा बढी खपत भएको छ ।
“गत वर्ष असार पन्ध्रका दिन मागअनुसारको दही पु¥याउन एक सातादेखि मौज्दात राख्नुपथ्र्याे तर बन्दाबन्दीका कारण यसपालि धेरै माग नभएको र मागअनुसार खपतमा सहज भयो”, उनले भने ।
१० प्रतिशतले कमी
गत वर्षको तुलनामा यस वर्ष डिडिसीको दही खपतमा १० प्रतिशतले कमी आएको छ । सबैभन्दा धेरै दही काठमाडौँ उपत्यकामा खपत हुँदै आएकामा बन्दाबन्दीका कारण उपत्यका छाड्नेहरु वृद्धि हुँदा खपतमा कमी आएको डिडिसीले जनाएको छ ।
डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेलका अनुसार यस वर्ष काठमाडौँ उपत्यकामा तीस हजार लिटर र बाहिर चालीस हजार लिटर गरी ७० हजार लिटर दही बिक्री भएको छ ।
अन्य समयमा साँझ ५ बजेसम्म खुल्ने बिक्री केन्द्र उपभोक्तालाई ध्यानमा राख्दै साँझ ७ बजेसम्म खुला गरिएको उहाँले जानकारी दिए । गत वर्ष निजी र सरकारी दुवैबाट असार १५ को दिन सात हजार लिटर दही बिक्री भएको थियो । – रासस