सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं, १८ असार । करिब ३ महिनापछि सोमबारदेखि खुलेको बजारमा दिनदिनै सर्किट लाग्दै आएको छ ।

सोमबार नेगेटिभ सर्किट लागेर ब्याक भएको बजार मंगलबार र बुधबार पूरा कारोबार नहुँदै पोजेटिभ सर्किट लागेर बन्द भएको थियो ।

तेस्रो दिन बिहीबार भारी गिरावट आएको छ। पहिलो नेगेटिभ सर्किट ब्रेकपछि खुलेको कारोबारको ४ मिनेटमै फेरि ५ प्रतिशतको गिरावट आउँदै दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ। योसँगै नेप्सेले कारोबार ४० मिनेटका लागि स्थगित गरेको छ।

यस दिन बजारमा खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट लागेर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो। सोपश्चात ११ः४३ मा खुलेको बजार ४ मिनेटमा थप १ प्रतिशत घटेपछि कारोबार ४० मिनेटको लागि स्थगित गरिएको हो।

सो अवधिसम्ममा नेप्से सूचक ६७.०४ अंक घटेर १ हजार २६९.४८ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स १४.६९ अंक घटेको छ। सो अवधिसम्ममा १३३ कम्पनीको ५ हजार ६१४पटकको कारोबारमा २९ करोड ३५ लाख रुपैयाँ बराबरको ६ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।