नेपाल निम्नमध्यम आय भएको मुलुकमा उक्लियो, कति पुग्यो प्रतिव्यक्ति आय ?

दक्षिण एशियामा माल्दिभ्स उच्च प्रतिव्यक्ति आय भएको मुलुक

काठमाडौं, १९ असार । नेपाल न्यून आय भएको मुलुकबाट पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको हो ।

सन् २०१९ मा १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी भएका मुलुकलाई विश्व बैँकले न्यूनमध्यम आय वर्गमा राखेको छ।

सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्वबैंकको तथ्यांक छ ।

विश्वबैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने मुलुकलाई न्यून आयवर्गमा राख्दै आएको छ।

दक्षिण एशियाली मुलुकहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको मुलुक माल्दिभ्स बनेको छ।

सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६ सय ५० अमेरिकी डलर रहेको विश्व बैंकले जनाएको छ ।

माल्दिभ्स उच्च मध्यम आय वर्गमा भएको दक्षिण एशियाको एकमात्रै देश हो । यसअघि श्रीलंका पनि उच्च मध्यम आय भएको देशमा थियो ।

तर यस वर्ष श्रीलंका प्रतिव्यक्ति आय खस्किएर निम्नमध्यम आय भएको देशमा झरेको छ। विश्वबैंकले संसारभरीका देशलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ ।

विश्वका २९ मुलुक न्यून आयवर्गमा रहेको विश्वबैंकले जनाएको छ । त्यस्तै, नेपालसहित ५० मुलुक निम्नमध्यम वर्ग, ५६ मुलुक उच्च मध्यम वर्ग र ८३ मुलुकहरू उच्च आयवर्गमा पर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here