ट्याक्सी चलाउन दिने व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं, २४ असार । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले ट्याक्सी व्यवसाय संचालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ।

बुधबार बसेको समितिले व्यवसायी मारमा परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो वातावरण बनाउन निर्देशन दिएको हो ।

ट्याक्सी संचालन गर्दा स्वास्थ सुरक्षाका लागि निश्चित मापदण्ड बनाएर कार्यान्वयन गर्न दिन निर्देशनमा भनिएको छ ।

ट्याक्सी व्यवसायीले भोकै मर्नुपर्ने अवस्था आएको, डिप्रेसनमा पर्नेहरू बढेकोलगायतका गुनासो राखेका थिए ।

उनीहरूले बैङ्कको किस्ता तिर्न समस्या परिरहेको भन्दै ब्याजमा मिनाहा र छुट दिनुपर्ने माग गरेका छन्।

समितिको निर्देशनमा भनिएको छ, “विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीएमसी) ले तयार पारेका मापदण्डहरु पूरा गरी सरकारले लकडाउनकै अवधिमा पनि केही पेसा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतज्ञावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।”

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गरेपछि धेरै व्यवसाय प्रभावित भएका छन् ।

त्यसमध्ये सार्वजनिक यातायात क्षेत्र सर्वाधिक प्रभावित भएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो । असार १ गतेपछि निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन, पसल र व्यवसाय सञ्चालनको अनुमति दिएको सरकारले सार्वजनिक सवारी साधनलाई भने चल्ने दिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here