वर्षाका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द

फाइलफोटो

काठमाडौं, २६ असार । निरन्तर वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वका विभिन्न जलविद्युत् आयोजनामा क्षतिपुग्दा करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ए विद्युतगृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ ।

त्यस्तै, ७० मेगावाटको मध्यमस्र्याङदी, ४५ मेगावाटको माथिल्लो भोटेकोशी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट, ६ मेगावाटको पुवाखोला जलविद्युत् लगायत दर्जन बढी आयोजनामा गरी करिब ५ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ ।

भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । वर्षा तथा पहिरोका कारण प्रसारण तथा वितरण लाइनको तार चुंडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको छ ।

वर्षाका कारण १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनमा क्षति पूग्दा यसमा जोडिएको १५० मेगावाट विद्युत प्रणालीबाट विच्छेद हुन पुगेको छ ।त्यस्तै, चमेलिया मर्स्याङ्दी करिडोर प्रसारण लाइनमा पनि पहिरोका कारण समस्या आएर बन्द भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here