इजी ट्याक्सी नेपाल एपले उपत्यकाका ११ हजार ट्याक्सी चालकको कोरोना बीमा गरिदिने

काठमाडौं, २७ असार । इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको कोरोना बीमा गरिदिने व्यवस्था ल्याएको छ ।

निरन्तर बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखेर एपले काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने भएको हो ।

यस योजनाअन्तर्गत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा संचालन गरेको हुने पर्ने वा आगामी दिनमा एपमा आबद्ध हुने प्रतिबद्धता गर्नुपर्ने बताइएको छ ।

यस इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउनेछन्, इजी ट्याक्सी नेपालका अध्यक्ष संजीत पौडेलले भने ।

यस एप भित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ ।
जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुन्छ । र ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्याउने हो सजिलै दर्ता गर्न सक्दछ ।

यसबाट चालक तथा यात्रु दुबै सुरक्षित हुनुको साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफु चढेको ट्याक्सीको बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुनेछ, पौडेलले भने ।

यस प्रकारको सिस्टमको माध्यमबाट नेपाल सरकारलाई आवश्यक परेको बेलामा कोरोनाको ट्रेसिङ्ग गर्नुपर्दा सहयोग पुग्नुको साथसाथै आवश्यक विबरणहरु पनि सजिलै संकलन गर्न सकिने उनको भनाइ छ ।

देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बीमा गर्न लागिएको पौडेलले बताए ।

भर्खर सिमित संख्यामा ट्याक्सी चल्न थालेका छन र यात्रुहरुलाई समेत सुरक्षित भएको संदेश दिनुपर्नेछ, जसमा कोरोना बीमा गर्दा ट्याक्सी चालकहरुले ढुक्कले सेवा दिन सक्ने छन्, उनले भने ।

यसका साथसाथै ट्याक्सी व्यवसायीलाई ट्याक्सी बीमा गराउँदा विभिन्न बीमा कम्पनीसँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बीमा गराउने व्यवस्था समेत गरेको छ । जसअन्तरगत इजी ट्याक्सी नेपालले ट्याक्सी बीमामा न्यूनतम ७०० रुपैयाँदेखि ८,७६५ रुपैयाँसम्मको छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here