महामारी पिडित महिलालाई सहयोग गर्ने संस्थालाई सरकारले पुरस्कार दिने

काठमाडौं, २७ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोनाभाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणा गरेका छन् ।

कोरोनाभाईरसका कारण विदेशबाट फर्किएका महिलाहरुको पीडालाई सम्बोधन हुने गरी सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने उनले बताएका हुन् ।

गैरआवासीय नेपाली संघ, युकेद्धारा सनिबार आयोजित ‘कोभिड–१९ ले नेपाली महिलाहरुमा पारेको प्रभाव’ विषयक ‘भर्चुअल’ बैठकमा बोल्दै मन्त्री गुरुङले कोरोनाभाईरसका कारण स्वदेश फर्किएका महिलाहरुको उचित व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन खालका कार्यक्रम ल्याउने तयारी भईरहेको पनि बताए ।

उनले नेपाली महिलाहरुले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्या समाधानका लागि महिलाहरुलाई ‘उद्यमशीलता र उत्पादन’मा जोडने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको पनि उनले जानकारी गराएका छन् ।

महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सहयोग गर्न पनि प्रवासमा रहेका महिला नेतृहरुलाई उनले आग्रह पनि गरे ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले कोरोनाभाइरसबाट प्रभावित महिलाहरुका लागि आत्मनिर्भर हुने गरी आय आर्जनको कार्यक्रम तत्काल ल्याउन सरकारसँग माग गरिन् ।

त्यसैगरी गैरआवासीय नेपाली संघ, यूकेकी अध्यक्ष पुनम गुरुङसहित गैर–आवासीय नेपाली संघमा आवद्ध महिला नेतृहरुले कोरोनाभाईरसका कारण रोजगारीको अवसर गुमाएर स्वदेश फर्किएका नेपालीहरुलाई सम्मानपूर्वक जिउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here