‘एभेन्जर्सः ईन्डगेम’को कीर्तिमानी व्यापार, सातामै १ अर्ब २० करोड डलर

काठमाडौं, १६ वैशाख । हलिउड साइफाइ फिल्म ‘एभेन्जर्स: ईन्डगेम’ ले एक सातामै १ अर्ब २० करोड अमेरिकी डलर बराबरको ब्यापार गर्दै विभिन्न कीर्तिमानहरु राख्न सफल भएको छ ।

वैशाख ११ (अप्रिल २४) बाट विश्वव्यापी रुपमा रिलिज भएको फिल्म सबैभन्दा धेरै ओपनिङ कलेक्सन गर्ने फिल्म समेत बनेको छ ।

प्रसिद्ध मार्भल्स स्टुडियो फ्रेन्चाइजीको २२ औं फिल्मको रुपमा आएको एभेन्जर्सः ईन्डगेम ५ दिनमै एक अर्ब डलर भन्दा धेरै व्यापार गर्ने पहिलो फिल्म समेत बनेको छ ।

अघिल्लो वर्ष रिलिज भएको मार्वल स्टुडियोकै २१ औं फिल्म ‘एभेन्जर्सः ईन्फिनिटि वार’ले पहिलो सातामा ६४० मिलियनको व्यापार गरेको थियो ।

दाजुभाई एन्थोनी रुसो र जोई रुसोको निर्देशन रहेको मल्टी स्टारर फिल्ममा रोवर्ट डाउनी जुनिअर आइरन म्यानको रुपमा प्रस्तुत भएका छन् ।

त्यस्तै फिल्ममा क्रिस इभान्स, मार्क रुफलो, पावल रुड, क्रिस हेमवर्थ, स्कार्लेट जोहान्सन, ब्रे लार्सन, क्यारन गिलन आदि पनि विभिन्न सुपरहिरो चरित्रमा प्रस्तुत भएका छन् ।

फिल्मको कुल बजेट ३५६ मिलियन डलर रहेको बताइएको छ । यो फिल्मले अमेरिका क्यानडामा मात्रै होइन चीन लगायत अन्तराष्ट्रिय बजारमा पनि आक्रामक व्यापार गरिरहेको छ ।

त्यस्तै फिल्मको रिलिज हुन अगाडिदेखि नै केही सातासम्मको लागि प्रिबुकिङ फुल भएको खबरहरु सार्वजनिक भएका थिए । नेपालमा पनि यो फिल्मले राम्रो कलेक्सन गरेको बताइएको छ ।

(एजेन्सीको सहयोगमा )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here