विदेशी लगानी प्रतिबद्धता कुन क्षेत्रमा कति, ८० प्रतिशतसम्म चीनबाट

काठमाडौं, २९ असार । विदेशी लगानी प्रतिबद्धता बढ्दै गएको छ। उद्योग विभागमा तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७६÷७७ का लागि आएको लगानी प्रतिबद्धताको परिमाणले वैदेशिक लगानी बढेको देखाएको हो।

चालू आर्थिक वर्ष २०७६/०७७ को लागि असार २१ गतेसम्ममा चीन, भारत, अमेरिका, मलेसियालगायतका देशबाट ३५ अर्ब ९४ करोड रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

विभिन्न देशका लगानीकर्ताले २१३ उद्योगको लागि उद्योग विभागमार्फत सो लगानी प्रस्ताव गरेका हुन्।

तथ्यांक अनुसार कूल लगानीमध्येमा ७० देखि ८० प्रतिशतसम्म लगानी प्रतिबद्धता चीन सरकारबाट आएको छ । यसैगरी चीनपछि भारत, अमेरिका, मलेसियालगायतका देशबाट लगानी प्रतिबद्धता आएका छन् ।

विभागको अनुसार गत वर्षको तुलनामा उद्योगको संख्या कमी आए तापनि लगानीमा वृद्धि भएको छ ।

गत वर्षको तुलनामा असार २१ गतेसम्म रु १० अर्ब २७ करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता आइसकेको छ ।

गत वर्ष ३४४ वटा उद्योगमा रु २५ अर्ब ४७ करोड लगानी प्रतिबद्धता आएको थियो । चालू आर्थिक वर्षमा सबैभन्दा धेरै लगानी सेवामूलक क्षेत्रमा आए तापनि पर्यटन क्षेत्रमा धेरै उद्योग रहेको विभागको दाबी छ ।

विभागको अनुसार सेवामूलक क्षेत्रमा ६८ उद्योगका लागि १० अर्ब ६५ करोड, पर्यटन क्षेत्रमा ७५ उद्योगका लागि रु नौ अर्ब ७१ करोड ६९ लाख, सूचना प्रविधि क्षेत्रमा ३७ उद्योगका लागि रु ७० करोड ८१ लाख प्रतिबद्धता आएको छ ।

यसैगरी ऊर्जा क्षेत्रका छ उद्योगमा रु ५२ करोड ७४ लाख, कृषि तथा वनजन्य क्षेत्रमा चार उद्योगका लागि र रु चार करोड ४७ लाख बराबरको लगानी गर्ने प्रतिबद्धता आएको छ ।