अनलाइन कक्षा बन्द गर्ने निर्णय, निजी विद्यालयका शिक्षक-कर्मचारीलाई बेतलबी बिदा !

प्रतिकात्मक तस्बिर

काठमाडौं, ३१ असार । निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्।

नेसनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्।

विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने निर्णय गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिक्षक, कर्मचारीलाई समेत बेतलबी घर बिदामा राख्ने निर्णय पनि गरिएको छ । शिक्षा मन्त्रालयले असार २१ गते गरेको सहमतिअनुसार ठोस निकास दिन नसकेको पनि उनीहरूको भनाइ छ।

‘आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले विद्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउन १ गतेदेखि सवै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापहरु स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं।’

‘घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इंटरनेट इत्यादि खर्च धान्न नसक्ने गरि विद्यालयहरुको आर्थिक अवस्था जर्जर रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

प्याब्सन तथा एन व्याव्सनले असार १४ गते समस्या समाधान गर्न शिक्षा मन्त्रालयसमक्ष पेश गरेको ज्ञापन–पत्रबारे असार २१ गते मन्त्रालयमा भद्र सहमति भएको थियो ।

कोभिड–१९ का कारण गत चैतबाट पठनपाठन अवरुद्ध भएपछि शिक्षा मन्त्रालयले २०७७ साल आषाढ १ गते देखि लागू हुने गरी ‘वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका’ जारी गरेको थियो ।

उक्त निर्देशिकाको अधीनमा रहने गरि संस्थागत विद्यालयहरुले समेत शैक्षिक–सत्र २०७७ का लागि विद्यार्थीहरुको अभिलेखिकरण गर्ने तथा नियमित वैकल्पिक कक्षाहरु (अनलाइन/अफलाइन मार्फत) थप व्यवस्थित गर्ने तयारी गर्दै इन्टरनेटमा पहुँच नहुने विद्यार्थीहरुका लागि टेलिभिजन, रेडियो/एफ.एम. मार्फत समेत दूरशिक्षा कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here