पुरानै लयमा फर्कँदै राजधानी: ट्राफिक जाम बढ्यो, मापसे चेकिङ बुधबारबाटै

काठमाडौं, ७ साउन । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउन आजबाट अन्त्यभएसँगै ट्राफिक जाम बढ्न थालेको छ ।

सार्वजनिक यातायात पूर्ण रुपमा नचलेपनि र निजी चार पाङ्ग्रे सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली हटाएसँगै राजधानीको सडकमा सवारीको चाप थपिएको हो ।

लकडाउनमा सुनसान देखिएको सडक छोटो दुरीका सवारी साधन निर्वाध चल्न थालेपछि हिजोआज काठमाडौं उपत्यकाको जनजीवन सामान्य नै बनेको छ ।

कार्यालय समयमा त कतिपय चोकमा जाम पनि हुन थालेको छ। कोरोना महामारीविरुद्ध सचेतना अपनाई दैनिक कामकाजमा फर्किने सरकारी निर्णयको पालना हुन सकेको छैन। सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ।

होटल तथा रेष्टुरेन्ट मा सभा सम्मेलन भने गर्न पाइने छैन। त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ।

भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ। खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौदेखि सञ्चालन गर्न पाइने भएको छ।

ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने बन्देज लगाइएको छ। शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना सञ्चालन गर्न नपाइने भएको छ।

यसैगरी भदौ १ गतेदेखि लामो, मध्यम तथा छोटो दुरीका सवारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य सुरक्षा सजगता अपनाएर सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।

मापसे चेकिङ सुरु

सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आजबाट ट्राफिक प्रहरीले मापसे चेकिङ सुरु गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइसकेको छ ।

यसअघि विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here