क्लियरिङ हाउसको कारोबार २२ प्रतिशत बढ्यो, वार्षिक संख्या २ करोड बढि

काठमाडौं, ७ साउन । नेपाल क्लियरिङ्ग हाउसको वार्षिक कारोबार संख्या २२. २५ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२.२५ ले बढी हो।

गत आर्थिक वर्षमा लकडाउन अवधिमा पनि यसका विभिन्न भुक्तानी प्रणालीमार्फत ५२.५ लाख भुक्तानी कारोबारहरू भएको कम्पनीले जनाएको छ ।

विभिन्न भुक्तानी प्रणालीहरुमार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा ९६.८ खर्ब रुपैयाँ , ३२ करोड अमेरिकी डलर, २३.८ करोड युराे र १७.१ करोड स्टेर्लिंग पाउण्ड बराबर रहेका छन्।

यससँगै राष्ट्रियस्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्याउँदै आएको एनसिएचएलको स्थापना वर्षदेखि हालसम्मको वृद्धी दर ५८.८% पुगेको छ।

हाल एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमार्फत दैनिक औसत ३६.२ अर्ब रुपैयाँ बराबरको ७७,११५ भुक्तानी कारोबार हुने गरेकाे छ।

नेपाल क्लियरिङ हाउसले एनसीएचएल ईसीसी एनसीएचएल आईपीएस र कनेक्ट आईपीएसलगायत भुक्तानी तथा फर्स्योटका प्रणालीहरू सञ्चालनमा गरिरहेका छन् । यसका साथै नेसनल पेमेन्ट्स इन्टरफेस तथा कनेक्ट आरटीजीएस पनि सञ्चालन गर्दै आएको छ ।

विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमार्फत हाल बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रदायक र भुक्तानी प्रणाली सञ्चालकलगायत विभिन्न सेवा प्रदायक संस्थाहरूलाई जोडी भुक्तानी कारोबार सञ्चालन गर्दै आएको छ ।

यस सेवाको प्रयोग सरकारी निकायमा पनि तलब भुक्तानी, तेस्रो पक्ष भुक्तानीलगायतका विभिन्न भुक्तानी एवं राजस्व संकलनका निम्ति हुँदै आएको छ ।

गत आर्थिक वर्षमा २१९ अर्बबराबरको अन्तरबैंक सरकारी भुक्तानी र ३.१२ अर्बबराबरको राजस्व संकलन एनसीएचएलका प्रणालीहरूमार्फत भएको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकसँगै बैंक वित्तिय संस्थाहरुबाट प्रवर्धित एनसिएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको लाईसेन्स प्राप्त संस्था हो।

एनसिएचएलले डिजिटल भुक्तानी क्षेत्रको विकासको लागि आफ्ना पूर्वाधारहरु विभिन्न संस्थाहरुलाई प्रदान गर्दै आएको छ।

यसमा बैंक वित्तिय संस्था, पिएसअपि पिएसओ, रेमिट्यान्स कम्पनी, इन्स्योरेन्स, सरकारी अर्ध–सरकारी संस्था, कर्मचारी सन्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष,नेप्से तथा अन्य विभिन्न संस्थाहरु लगायत १०२ सदस्यहरु रहेका छन्।

एनसीएचएल इसिसि र एनसिएचएल आइपिएस का निम्ती सेवाग्राही बैंककै शाखा पुग्नु पर्ने भएता पनि कोक्ट आइपिएसमार्फत भने बैंक शाखा नपुगी अनलाईनबाटै फन्ड ट्रान्सफर तथा अन्य भुक्तानी गर्न सकिन्छ।

यसै कारणले गर्दा लकडाउन अघि एक अर्ब दैनिक औसत कारोबार हुने गरेको कनेक्ट आइपिएसमा असारमा भने २.५ अर्ब बराबरको दैनिक औसत कारोबार भएको छ ।

हाल डिजिटल भुक्तानी प्रणालीले लिएको गतिलाई निरन्तरता दिन साउन १, २०७७ बाट एनसिएचएलका भुक्तानी प्रणालीहरुमा शुल्क पनि घटाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here