सार्वजनिक ऋण १३ खर्ब नाघ्यो, एक नेपालीको थाप्लोमा ४३ हजार ७ सय १६ रुपैयाँ

काठमाडौं, ८ साउन । नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ ।

अर्थ मन्त्रालयको अनुसार २०७७ सालको जेठसम्म नेपाल सरकारको ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

१३ खर्ब १२ अर्ब रुपैयाँमध्ये पाँच खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण र सात खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को जेठ महिनासम्म अर्थात् ११ महिनामा सरकारले आन्तरिकतर्फ ३३ अर्ब ८९ करोड रुपैयाँको साँवा र १९ अर्ब २४ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।

बाह्यतर्फ १६ अर्ब ५२ करोड रुपैयाँ सावाँ र तीन अर्ब ५६ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।

सरकारको ऋण बढ्नु भनेको प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार बढ्नु हो । सरकारको यस ऋणलाई आधार मान्ने हो भने अहिले प्रतिव्यक्ति ऋणको भार समेत बढ्छ ।

सरकारले देशको बढ्दो आवश्यकताहरु परिपूर्ति गर्नको लागि देशभित्रका संघ सस्था, व्यक्तिहरुबाट ऋण लिने गर्दछ भने बाहिरी देश र सस्थाहरुबाट पनि ऋण लिनुपर्ने हुन्छ ।

सार्वजनिक खर्चको लागि सरकारद्धारा यसरी लिइने ऋणलाई नै समग्रमा सार्वजनिक ऋण भन्ने गरेको पाईन्छ ।

एक नेपालीको थाप्लोमा ४३ हजार सात सय १६ रुपैयाँ ऋण

नेपालको कुल सार्वजनिक ऋणलाई नेपालको आजको अनुमानित कुल संख्याले भाग गर्ने हो भने एक नेपालको थाप्लोमा एक नेपाली बराबर ४३ हजार सात सय १६ रुपैयाँ ऋण पर्न जान्छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या तीन करोड २७ हजार ६ सय ५९ रहेको छ ।

यद्यपी सरकारले ऋणको आकार घटाउने प्रयास भने गरिरहेको छ । पछिल्लो समय कोरोना भाइरसका कारण देशको अर्थतन्त्र नै ठप्प जस्तै भएको छ । जसले गर्दा सरकारको आम्दानीको मुख्य स्रोत राजस्व असुलीमा ठूलो गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here