यस्तो देखियो हजारको नयाँ नोट, विदेशी हात्तीको प्रयोग हट्यो

नेपाली हात्तीको तस्वीर (माथि), विदेशी हात्ती रहेको पुरानो नोट (तल)

काठमाडौं, ८ साउन । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटाउँदै नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्तीका ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । यसअघिको नोटमा एउटा मात्र हात्तीको तस्बिर थियो ।

नयाँ नोटको आकार र रंग भने पुरानै जस्तो हुनेछ । बैंकले संकेत नं.ज–६८०००००१ देखि ट–१००९९९९९९ सम्मको नोट बजारमा पठाएको छ । यो नोटमा पूर्वगभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेका छन् ।

नयाँ नोटमा दायाँतर्फ ४ मिलिमिटर चौडाइ भएको चलायमान ‘एनआरबी’ र ‘१०००’ अंकित सुरक्षण धागो छ । दायाँतर्फ हजार दरको नोट जनाउने अंग्रेजी अंकको केही अंश रहेको केन्द्रीय बैंकले जनाएको छ ।

नोटको दायाँतर्फ लालीगुराँस र हजार दरको नोट जनाउने पानीछाप छ । यसमा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी हजार अंक जनाउने रोमन अक्षर ‘एम’ पनि लेखिएको छ ।

नोटको तल्लो भागको बोर्डमा नोटको सिरिज नम्बर र विक्रम सम्बत् २०७६ लेखिएको छ । ‘रामलक्ष्मण’ को चित्र भने नोटको पृष्ठभागमा छ ।

साविकको हजार रुपैयाँको नोटमा विदेशी हात्तीको चित्र रहेको भन्दै विज्ञहरुले विरोध जनाउदै आएका थिए । उनीहरुले हात्ती नेपालमा नै पाइने भए पनि हजार रुपैयाँमा विदेशी हात्तीको चित्र प्रयोग हुनु अनउचित रहेको टिप्पणी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here