लकडाउन अन्त्यसँगै काठमाडौंमा भेटिन थाले लक्षणसहितका संक्रमित

काठमाडौं, १० साउन । लकडाउन अन्त्य भएसँगै भेटिएका नयाँ कोभिड १९ संक्रमितहरुमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले बताएका छन्।

यसअघि नेपालमा देखिएका अधिकांश संक्रमितहरुमा कोरोनाको लक्षण देखिएको थिएन। लक्षण बिहिनहरुमा पीसीआर परीक्षण पश्चातमात्र उनीहरुमा संक्रमण पुष्टि हुँदै आएको थियो।

पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको उनले बताएका हुन्।

केहीदिनयता देखिएका संक्रमितहरुमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन्।

पाण्डेका अनुसार हालै काठमाडौँ उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको छ।

लक्षण देखिएका संक्रमित भेटिन थालेपछि सतर्कता अपनाउन उनले सुझाव दिएका छन्। सरकारले यही साउन ७ गतेदेखि लकडाउन अन्त्य गरेसँगै संक्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भर्ना भएका बिरामीमध्ये एक तिहाइमा लक्षण देखिएका संक्रमित भएको बताए। अस्पतालमा अहिले २४ जना बिरामीमध्ये आठजना कोभिड–१९ का लक्षण देखिएका संक्रमित रहेका छन्। उनका अनुसार ती बिरामीमा कसैलाई ज्वरो, रुघाखोकी, जीउ थाक्ने, श्वास फेर्न समस्या जस्ता लक्षण देखिएका छन्।

‘अन्य ठाउँभन्दा यहाँ बढी नै लक्षण भएका संक्रमित उपचार गराउन आउँछन’, उनले भने, ‘ती कतिपय संक्रमितलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छौँ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्माले पनि पहिले भन्दा अहिले अस्पताल आउने संक्रमितमा लक्षण देखिन थालेका बताए।

‘पहिले अस्पतालमा भर्ना हुने संक्रमित लक्षणबिहिन रहेका थिए’, उनले भने, ‘तर अहिले अस्पतालमा भर्ना भएका संक्रमितमा सामान्य रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिन थालेका छन्।’

शनिवार थप १०९ जना कोरोना संक्रमित थपिएका छन्। ४ हजार ७५ नमूनाको परीक्षण गर्दा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here