काठमाडौं, ११ साउन । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १.५४ प्रतिशत अर्थात २२.१७ अंक बढेर १४६४.८४ विन्दुमा पुगेको छ। बीमा कम्पनीमा लगानीकर्ता झुम्मिएपछि बजारमा उत्साह देखिएको हो ।
आइतबार १९० कम्पनीको १ अर्ब ९२ करोड ५१ लाख ७ हजार ३३० रुपैयाँ बराबरको कारोबार भएको छ । ४४ लाख ५८ हजार १५३ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका १२ वटा समूहमध्ये जलविद्युत् र म्युचुअल फन्ड बाहेक सबै समूहको परिसूचक उकालो लागेका छन् ।
कारोबारमा आएको मिर्मिरे माइक्रोफाइनान्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ। माइक्रोफाइनान्सको सेयरमूल्य यस दिन ६८ रुपैयाँ बढेर ७५० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कारोबारमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। सो इन्स्योरेन्सको यस दिन २५ करोड ८१ लाख ८७ हजार रुपैयाँ बराबरको १ लाख ८५ हजार ७९९ कित्ता सेयर खरिदबिक्री भएको छ।
त्यसैगरी, यस दिन पुनर्बीमा कम्पनी कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
बेस्ट फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशतले घटेको छ ।
























