एकता महाधिवेशन नहुञ्जेल ओली नै प्रधानमन्त्री र अध्यक्ष रहने गरी बामदेवको ६ बुँदे प्रस्ताव

काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आगामी एकता महाधिवेशनसम्म केपी ओली नै अध्यक्ष र प्रधानमन्त्री रहने बताएका छन् ।

मंगलबार एक प्रेस नोट जारी गरी उनले प्रतिनिधिसभाको यो कार्यकालभरी प्रधानमन्त्रीको जिम्मेवारीमा केपी ओली नै रहनु पर्ने प्रस्ताव सार्वजनिक गरेका छन् ।

उनको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमललाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिन प्रस्ताव गरिएको छ ।

प्रस्तावमा प्रधानमन्त्रीको दैनिक कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने उल्लेख छ । तर राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुअघि पार्टीको सचिवालयमा छलफल गर्नुपर्ने प्रस्ताव उपाध्यक्ष गौतमले राखेका छन् ।

त्यस्तै पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषदको पुनर्गठन र राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने पनि प्रस्ताव गरिएको छ । संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि पार्टी सचिवालयमा परामर्श लिनुपर्ने उनको प्रस्ताव छ ।

त्यस्तै गौतमले प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्नुपर्ने पनि उल्लेख गरेका छन् । पार्टीको बैठक पार्टी कार्यालयहरुमा गर्न पनि गौतमले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here