दक्षिण एसियाका ४० लाख बालबालिका बाढी पहिरोबाट प्रभावित

फाइलफोटो

काठमाडौं, १४ साउन । कोरोनाको चुनौतीको सामना गरिरहेका दक्षिण एसियाका ४० लाख बालबालिका बाढी पहिरोबाट प्रभावित बनेका छन् ।

संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफका अनुसार बंगलादेश, भारत, नेपाल, र भुटानमा अविरल वर्षाको कारण सात सय बालबालिकाको ज्यान गएको छ भने ४० लाख बालबालिका प्रभावित भएका छन् ।

कोरोना महामारीको कारण उद्धार, राहत र पुनर्स्थापनामा थप समस्या भएको छ ।

सडक, पुल, रेल मार्ग तथा विमानस्थलमा पुगेको क्षतिका कारण थुप्रै क्षेत्रहरू पहुँचबाहिर रहेका कारण उद्धार राहतमा कठिनाइ भएको युनिसेफले जनाएको छ ।

युनिसेफले प्रभावित बालबालिका तथा परिवारहरूका तात्कालीन आवश्यकता पूरा गर्नको लागि सम्बन्धित सरकार र मानवीय सहायता संस्थासँग स्थलगत रूपमै निकट समन्वय गरिरहेको तर कोरोना महामारी तथा त्यसको नियन्त्रण र रोकथामका सावधानीहरू पालना गर्नुपर्ने हुँदा प्रतिकार्यलाई थप जटिल बनाइदिएको जनाएको छ ।

नेपालमा असार २५ गतेयताको बाढी पहिरोले २० जिल्लाका दश हजार जना प्रभावितमध्ये आधाजसो बालबालिका रहेका छन् । सात हजार पाँच सय बालबालिका विस्थापित भएका युनिसेफले जनाएको छ ।

बङ्गलादेशमा मात्रै बाढीबाट १३ लाख बालबालिकासहित २४ लाख मानिसहरू प्रभावित भएको अनुमान गरिएको छ ।

भारतमा विहार, असाम, उडिशा, गुजरात, महाराष्ट्र, मध्य प्रदेश, केरला, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बङ्गालमा गरी बाढीबाट प्रभावित ६० लाख मानिसमध्ये २४ लाख बालबालिका रहेको अनुमान गरिएको छ ।

भुटानमा मनसुनी वर्षा पश्चातको पहिरोले मुख्य राजमार्गको साथै जिल्लाहरू जोड्ने सडकहरूमा क्षति पुगेकोले यातायात तथा संचार सेवामा अवरोध सिर्जना गरिरहेको छ।

७ वटा सहायक नदी तथा तिनमा मिसिन आउने खहरेमा पानीको सतह बढेको कारणलेमाओ नदीमा अकस्मात आएको बाढीले हालसम्म सम्म ४ जना मानिसको ज्यान लिनुका साथै बालीनाली तथा पानी प्रशोधन केन्द्रमा समेत असर पारेको छ।

अहिले सम्म पनि पानीको वहाव उच्च रहेकोले माओ नदीमा फेरि पनि बाढी आउने जोखिम कायमै छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here