उद्योग नवीकरणको लागि उपत्यका बाहिर र भित्रका लागि छुट्टा-छुट्टै म्याद

काठमाडौं, १४ साउन । उद्योग विभागले उद्योग नवीकरणको लागि म्याद थप गरेको छ । उद्योग विभागले एक सूचना जारी गर्दै लकडाउन खुलेको १ महिनाभित्र उद्योग नवीकरण गरिसक्नु पर्ने जानकारी गराएको छ । जस अनुसार भदौ ७ गते भित्र उद्योग नवीकरण नगरे जरिवाना लाग्नेछ ।

साउन ६ गते मध्यरातदेखि सरकारले लकडाउन खोल्ने निर्णय गरेसँगै लामो तथा छोटो दुरीका सार्वजनिक यातायात तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवसायी उडान समेत खोल्ने निर्णय गरिसकेको अवस्थामा अब लकडाउन मानिन नहुने विभागले बताएको छ ।

विभागले काठमाडौं उपत्यका भित्र साउन ८ गते र उपत्यका बाहिर भदौ १ गतेदेखि लकडाउन खुलेको ३० दिन भित्र उद्योग नवीकरण गर्न आग्रह गरेको हो । यस अनुसार अब काठमाडौं उपत्यकाका उद्योगहरुले भदौ ७ गते भित्र र बाहिरकाले भदौ ३० भित्र नवीकरण गरिसक्नु पर्नेछ ।

‘लकडाउन साउन ७ गते खुलेको र त्यसको ३० दिनसम्म विभागसँग सम्बन्धित कार्यहरु गराइसक्नुपर्ने अन्यथा साविककै दरमा जरिवाना लाग्ने छ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ । विभागको सूचनापछि उद्योग नवीकरण, पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता नवीकरण भदौ ७ गतेभित्र गरिसक्नुपर्नेछ ।

यस्तै आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय पनि भदौ पहिलो सातासम्मको लागि मात्रै थप गरिएको छ ।

तर यो सबै नवीकरण गर्ने कार्यमा विदेशी लगानीकर्ताले भने थप १ महिनाको समय पाउनेछन् । उपत्यका बाहिर सञ्चालन हुनेले पनि सबै कार्यका लागि थप १ महिनाको समय पाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here