काँग्रेसले काम गर्यो, जनतालाई बुझाउन सकेनः रामचन्द्र पौडेल

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले मुलुकको आर्थिक विकास, रोजगारी र उद्यम÷व्यवसाय मैत्री वातावरण निर्माणमा महत्वपूर्ण काम गरे पनि त्यसलाई आम जनतालाई बुझाउन नसकेको बताएका छन् ।

नेपाली कांग्रेस, लगानी, पूर्वाधार तथा रोजगार केन्द्रीत विशेष समितिसँगको छलफलमा उनले अहिलेको सत्तारुढ दलले नारा बेचेर जनतालाई गुमराहमा पारेपनि अब क्रमशः झुटको पर्दा खुल्दै गएको पनि बताए ।

‘नेपाली कांग्रेसले समृद्ध राष्ट्र निर्माण गर्न, जनतालाई सम्पन्न बनाउन उद्यम, रोजगारी र पूर्वाधार विकासमा धेरै काम गरेको छ । आर्थिक उदारीकरणले निजी क्षेत्रको विस्तार सम्भव भएको हो । नेपाली कांग्रेसले बाहेक अरु कसैले पनि निजी क्षेत्रको भावना कसैले बुझ्न सक्दैन,’ उनले भने ।

‘तर कमजोरी के भयो भने नेपाली कांग्रेसले गरेको काम पनि जनतालाई बुझाउन सकेन, अरु नारा मात्रै बेचेर सत्तामा गए ।’

नेता पौडेलले नारा, सपना र झुट बेचेर सत्तामा पुगेको नेपाल कम्युनिष्ट पार्टीले कुनै पनि जनपक्षीय काम गर्न नसकेर नाङ्गिदैं गएकाले मुलुकको प्रमुख प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसले मात्र देश र जनताका आवश्यकता सम्बोधन गर्न सक्ने बताए ।

गुटगत राजनीति त्यागेर बलियो नेपाली कांग्रेस पार्टी निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

लगानी, पूर्वाधार तथा रोजगार केन्द्रीत विशेष समिति संयोजक विनोद चौधरीले नेपाली कांग्रेसले सन् १९९० को दशकमा लिएको आर्थिक उदारीकरणको नीतिले नै निजी क्षेत्रको आकार र औकात बढेको उल्लेख गर्दै नेपाली कांग्रेसको नीतिले कुल गार्हस्थ उत्पादनको ३५ प्रतिशत योगदान गर्ने नयाँ क्षेत्रहरुको उदय भएको बताए ।

नेपाली जनताले अब जीवनस्तर सुधार, उन्नत विकास र समृद्ध राष्ट्र निर्माणका लागि धेरै प्रतिक्षा गर्न नसक्ने भन्दै नेपाली कांग्रेसको नेतृत्वमा अब मुलुकले समृद्धिको मार्ग तय गर्ने बताए ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा विधान संशोधनमार्फत् कम्तीमा पनि १० प्रतिशत पेशाकर्मी, विज्ञ तथा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरु पार्टीको संयन्त्रमा प्रतिनिधित्व हुने व्यवस्था गर्न आग्रह पनि चौधरीले आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here