सार्कको व्यापार बढाउन अन्तरदेशिय सडक सञ्जाल र अन्तरआवद्धता आवश्यकः अर्थमन्त्री खतिवडा

काठमाडौं, १९ बैशाख । फिजी भ्रमणमा रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले एसियाली विकास वैंकको ५२ औं वोर्डस अफ गभर्नरको वार्षिक बैठकको सिलसिलामा फिजीको नादीमा सार्कका अर्थ मन्त्रीहरुको तेह्रौ बैठकको अध्यक्षता गरेका छन् ।

उक्त बैठकलाई सम्बोधन गर्दै उनले दक्षिण एसियाको आर्थिक विकास मार्फत जनताको कल्याण र समृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको उल्लेख गरे ।

दक्षिण एसिया विश्व आर्थिक वृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउदै गएको भएता पनि अन्तरदेशीय सडक सञ्जाल र अन्तरआवद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा तीन गुणा सम्म बढाउन सकिने संभावना भएपनि पाँच प्रतिशत भन्दा माथि पुग्न नसकेको उनले बताए ।

अर्थमन्त्री खतिवडाले दक्षिण एसियाको समग्र अर्थिक स्थायित्वको चर्चा गर्दै नेपालले इतिहासमै लगातार तेस्रो बर्ष सम्म ६ प्रतिशत भन्दा माथिको आर्थिक बृद्धि हासिल गर्न सफल भएको पनि उल्लेख गरे ।

यस्तै एसियाली विकास वैंक, युरोपियन लगानी वैंक, अन्तराष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफ ट्रेजरीका उच्चपदस्थ अधिकारीहरुसंग भएको बेग्लाबेग्लै द्विपक्षीय वैठकहरुमा अर्थ मन्त्री डा. खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागिअनुकुलवातावरण निर्माण गर्न गरिएकासुधारहरुको वारेमा जानकारी गराए ।

उनले नेपालमा उच्च आर्थिक बृद्दिलाई निरन्तरता दिन, पूर्वाधार विकास गर्न, संघीयताको सफल कार्यान्वयन गर्न, संविधान प्रदत्त मौलिक हकहरुको कार्यान्वयन गर्न, भूकम्प पछिको पुर्ननिर्माण कार्य सम्पन्न गर्न र दिगो विकासको लक्ष्य हासिलगर्न सरकारलाई ठूलो लगानी आवश्यक भएकोले विकास साझेदारहरुलाई नेपालमा थप सहायता प्रदानगर्न आव्हान समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here