युद्धमा ध्वस्त मुलुकले गरेको प्रगति हेर्न प्रधानमन्त्री ओली भियतनाम जाँदै

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आगामी साता भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन् ।

युद्धमा ध्वस्त भएको भियतनामले पछिल्ला दशकमा गरेको अभूतपूर्व प्रगति हेर्न र त्यसबाट नेपालका लागि उपयुक्त मोडल सिक्नका लागि उनी त्यता जान लागेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

उनी भियतनामी प्रधानमन्त्री न्युएन चुआन फुकको निमन्त्रणामा पाँच दिने भ्रमणमा त्यता जान लागेका हुन् । उनले बैशाख २६ देखि ३० सम्म त्यहाँको भ्रमण गर्ने छन् ।

सन १९५५ देखि १९७५ सम्मको दुई दशकसम्म अमेरिकी युद्धमा करीब २० लाख भियतामी जनताले ज्यान गुमाएका थिए भने अन्य लाखौं अपांग भएका थिए । लगभग सबैजसो भौतिक पूर्वाधार र अन्य संरचना ध्वस्त भएको भियतनाम त्यसपछि विस्तारै जुर्मुराएको हो ।

तर, सन् १९९० पछि भियतनामले गरेको आर्थिक तथा सामाजिक प्रगति लोभलाग्दो मात्र छैन यो पूर्वी एशियाली मुलुकले गज्जबको आर्थिक वद्धि हासिल गरिरहेको छ भने संसारभरका लगानीकर्तालाई आकर्षित गरिरहेको छ । बहुराष्ट्रिय कम्पनीदेखि सूचनाप्रविधिमा लगानी त्यतै ओइरिएको छ ।

‘गएको तीस वर्षमा भियतनामले गरेको प्रगति हेर्नु र त्यो मुलुक कसरी लगानीको आकर्षक गन्तव्य बन्यो त्यो हेर्नु यो भ्रमणको मुख्य उद्देश्य हो । युद्धको बिभिषिकाबाट निस्केर भियताम कसरी आर्थिक शक्तिकेन्द्र बन्यो, त्यसबाट हामीले पनि पाठ सिक्न सक्छौं,’ परराष्ट्र मन्त्री ज्ञवालीले भने ।

त्यसैगरी, भियतनाम वौद्ध धर्मावलम्बीको देश भएकाले थप पर्यटक आकर्षित गर्न सकिने पनि उनको भनाइ थियो ।

भैरहवाको गौतमवुद्ध अन्तरराष्ट्रिय विमानस्थल बनेपछि नेपाल र भियतनामवीच सीधा हवाइ सम्बन्ध स्थापना गर्ने बारेमा पनि भ्रमणले चासो दिनेछ । सो विमानस्थल यसै वर्षको अन्त्यसम्ममा सञ्चालनमा आउने छ ।

प्रधानमन्त्री ओलीले हो चि मिन्ह सिटीमा थिंक ट्यांकलाई सम्बोधन गर्नेछन् भने केही नागरिकस्तरका कार्यकममा पनि सहभागी हुने छन् ।

भियतनाम भ्रमणपछि उनी कम्बोडियाको तीन दिने भ्रमणमा निस्कने छन् । उनी कम्बोडियाली प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा त्यता जान लागेका हुन् । भ्रमण द्विपक्षीय सम्बन्ध बलियो बनाउन, कम्बोडियाली पर्यटक नेपाल ल्याउन केन्द्रित हुने बताइएको छ ।

उनी बैशाख ३० देखि जेठ १ सम्म कम्बोडियामा रही जेठ १ गते काठमाडौं फर्किने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here