अब प्राधिकरणको कर्मचारी मिटर जाँच गर्न घरघर नआउने

काठमाडौं २५ साउन । नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन् ।

स्मार्ट मिटर प्रयोगमा आएसँगै ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने व्यवस्थाको अन्त्य हुनेछ ।

मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने छ ।

स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ ।

विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबार्ट मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिनेछ ।

मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुनेछ । कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुनेछ । स्मार्ट मिटरमा एकीकृत लोड मात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमान्ड चुहावट नियन्त्रण हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सय देखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने बताए ।

प्राधिकरणले पहिलो चरणमा देशभरका ८ हजार २ सय २२ टाइम अफ डे (टिओडी) मिटरहरुलाई स्मार्ट बनाइसकेको छ ।

दोस्रो चरणमा देशभरका करिब १ लाख २५ हजार थ्रि फेज होल करेन्ट मीटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ ।

यस्ता करिब १८ हजार मीटर जडान भइसकेका छन् । ६० हजार मिटर जडान भइरहेको छ । नयाँ थ्रि फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ । प्राधिकरणले मुलुकभरका सबै ग्राहकको मिटरलाई स्मार्ट बनाउने गरी कार्यक्रम अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here