‘सचिवालयको भुलले योजना आयोगमा पत्र, प्रधानमन्त्रीलाई जानकारी थिएन’

काठमाडौं, २० वैशाख । प्रधानमन्त्रीको निजी सचिवालयले योजना आयोगलाई गत चैत १९ गतेको मितिमा पठाएको पत्र भुलवश सम्प्रेषण भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले दाबी गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले शुक्रबार जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्रीको निजी सचिवालयबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्षका नाममा पठाइएको पत्र प्रधानमन्त्रीको जानकारीमा नरहेको उल्लेख छ ।

विज्ञप्तीमा सांसद सम्पर्क कार्यालयमा संकलन गरिएका आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशन बिना नै भुलवशः राष्ट्रिय योजना आयोगमा सम्प्रेषण गरिएको बताइएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयले योजना आयोगका उपाध्यक्षलाई पठाएको पत्रमा प्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापा ५ का विभिन्न १० सडक आयोजनाहरुलाई प्राथमिकताका आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रममा समेट्न आग्रह गरिएको थियो ।

उक्त पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्रीको चर्को आलोचना भयो ।

शुक्रबार बिहान कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै ‘तपाईं देशको प्रधानमन्त्री की दमकको मेयर ?’ भनेर प्रश्न गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले उक्त पत्र भुलवस सम्प्रेषण भएको बताउँदै विज्ञप्ती जारी गरेका हुन् ।

यस्तो छ विज्ञप्तीः

यस्ताे छ प्रधानमन्त्रीकाे निजी सचिवालयबाट याेजना आयोगमा पठाइएकाे पत्रः