बीमा कम्पनीलाई ५० प्रतिशत कर्मचारी मात्रै कार्यालय बोलाउन निर्देशन

काठमाडौं, २८ साउन । बीमाको नियामक बीमा समितिले सबै बीमा कम्पनीहरुलाई ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा राख्न परिपत्र जारी गरेको छ ।

बीमा समितिले बुधबार एक परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई कार्यालयमा नराख्न निर्देशन दिएको हो ।

दिनप्रतिदिन देशभर भाइरसको संक्रमितहरुको संख्या बढीरहेको बेला बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई आलोपालो गरेर काम गर्न आग्रह गरिएको छ ।

सकेसम्म बीमा कम्पनीहरुले धेरै शाखाहरु सञ्चालन नगरी एउटै शाखाबाट काम गर्ने व्यवस्था मिलाउन बिमा कम्पनीहरुलाई निर्देशन दिएको समितीले जनाएको छ । यो व्यवस्थाले बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि पनि अब जोरविजोर प्रणाली लागू हुने भएको छ ।

अहिलेसम्म मुलुकभर १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र एउटा पुर्नबीमा कम्पनी सञ्चालनमा छन ।

त्यस्तै, कोरोना भाइरसको जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंकले पनि यस अगाडि नै बैंकका कर्मचारीहरुलाई आलोपालो काम गर्ने व्यवस्था गर्न निर्देशन जारी गरिसकेको छ ।

काठमाडौं उपत्यका फोरमले पनि यस अगाडि अत्यावश्यक काम बाहेक अन्य स्थानीय तहबाट पाउने सेवाहरु बन्द गरेको छ ।

सरकारले पनि भिडभाड हुने क्षेत्र होटल तथा रेष्टुडेन्ट समेत सञ्चालनमा रोक लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here