२५ बैंकको वित्तीय विवरण: कुनको नाफा कति घट्यो ?

काठमाडौं, ३१ साउन । चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण देशको समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्था पनि कोरोनाका कारण समस्यामा परेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा अहिले सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ ।

सञ्चालनमा रहेका कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ ‘क’ वर्गका वाणिज्य बैंकले आव २०७६/०७७ को वार्षिक विवरण प्रकाशित गरेका छन् । उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कोरोनाका कारण वाणिज्य बैंकको नाफामा समेत असर परेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले वाणिज्य बैंकको नाफामा प्रत्यक्ष असर पारेको छ ।

बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आव २०७६/०७७ मा कुल ५१ अर्ब १७ करोड रुपैयाँ बराबरको नाफा गरेका छन् । अघिल्लो आवमा ५७ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेका थिए ।

अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुको नाफा झण्डै ११ प्रतिशतले घटेको छ । विवरणअनुसार बैंकको नाफा ६ अर्ब २७ करोड रुपैयाँले घटेको हो ।

वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये कुल १८ बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको पाइएको छ । विवरणअनुसार सात वाणिज्य बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।

आव २०७६/०७७ मा सबैभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक रहेको छ । यो बैंकको नाफा ३५ प्रतिशतले घटेको छ ।

नेपाल एसबीआई बैंकको नाफा ३३ दशमलव २२, कुमारी बैंकको शून्य दशमलव ३१ प्रतिशत छ । विवरणअनुसार माछापुच्छ्रे २६ दशमलव २२, सानिमाको २४ दशमलव ५६, सिटिजन्स बैंकको २३ दशमलव ७२, नेपाल इन्भेस्टमेन्ट २२ दशमलव ६३, बैंक अफ काठमाण्डौको २२ दशमलव २१ र नेपाल बङ्गलादेश बैंकको नाफा २० दशमलव ७५ प्रतिशतले घटेको छ ।

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १८ दशमलव ५१, सनराइजको १८ दशमलव ३५, एभरेस्टको १८ दशमलव १४, नबिलको १५ दशमलव ८५ र राष्ट्रिय वाणिज्य बैंकको ११ दशमलव ७७ प्रतिशतले नाफामा गिरावट आएको छ ।

सिद्धार्थको ८ दशमलव २६, हिमालयनको आठ, नेपाल बैंकको १ दशमलव ५५ र कुमारी बैंकको शून्य दशमलव ३१ प्रतिशतले नाफा घटेको छ ।

त्यसैगरी सेञ्चुरी बैंकले ३३ दशमलव ९७, ग्लोबल आईएमईले ११, एनसिसीले १० दशमलव ७४, प्राइमले ४ दशमलव २७, एनआईसी एसियाले ३ दशमलव २४ र एनएमबी बैंकले ० दशमलव शून्य दशमलव ५९ प्रतिशत मात्रै नाफा गरेको शुक्रबार प्रकाशित विवरणमा समावेश छ ।

राष्ट्रिय वाणिज्य बैंकले चार अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । सिभिल बैंकले ४५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नबिल बैंकले तीन अर्ब ५६ करोड रुपैयाँ, एनआइसी एसिया बैंकले तीन अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ ।

गएको वर्ष जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकले तीन अर्ब आठ करोड रुपैयाँ कमाएको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले दुई अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ ।

हिमालयन बैंकले दुई अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ । माछापुच्छ्रे बैंकले एक अर्ब २५ करोड, सानिमा बैंकले एक अर्ब ७० करोड रुपैयाँ नाफा गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here