पुनर्निर्माण र पुनर्स्थापनाका अनुभव र सिकाइबारे राष्ट्रिय सम्मेलन आयोजना गर्दै प्राधिकरण

काठमाडौं, ६ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद सम्मेलन आयोजना गर्ने भएको छ ।

सो कार्यक्रम यही भदौ ८ देखि ११ गतेसम्म भर्चुअल माध्यमबाट आयोजना गरिने भएको छ ।

नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनामा संलग्न विभिन्न निकाय एवं साझेदार, संघसंस्था, विज्ञ तथा व्यक्तिहरुलाई एउटै मंचमा ल्याएर पुनर्निर्माण तथा पुनर्स्थापनाका क्रममा प्राप्त सफलताहरु, उपलब्धी एवं कमीकमजोरीबारे समीक्षा गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको प्राधिकरणका कार्यकारी समिति सदस्य एवं अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

भुकम्प पछिका गतिविधिहरु बारे साझा धारणा निर्माण गर्ने उद्देश्य पनि परिसंवादले लिएको छ ।

भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिंदै छ ।

सोही सम्मेलनको तयारीका क्रममा प्राधिकरणले परिसंवादलगायत विभिन्न कार्यक्रम गर्न लागेको हो । डा. श्रेष्ठका अनुसार यो परिसंवादमा पुनर्निर्माण र पुनर्स्थापनाका ६ वटा विषयगत क्षेत्रह क्रमशः निजी आवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत एवं सुशासनबारे छलफल हुनेछ । परिसंवादमा ६० वटा शोधपत्रहरु प्रस्तुत हुनेछन् ।

प्राधिकरणका सहप्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका सदस्य–सचिव मनोहर घिमिरेका अनुसार परिसंवादमा प्राधिकरणलगायत सरकारी निकाय प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरु, भूकम्प पीडित, निजी क्षेत्रका प्रतिनिधि एवं कार्यपत्रका प्रस्तोताहरु सहभागी हुनेछन् ।

कार्यक्रममा इच्छुकले दर्ता प्रक्रियामार्फत् सहभागिता जनाउन सक्नेछन् । त्यसका लागि सचिवालयको इमेल ठेगानामार्फत् सम्पर्क गर्नुपर्नेछ ।

आयोजक समितिको सचिवालयका अनुसार कार्यक्रममा औपचारिक र प्राविधिक गरी दुई सत्र हुनेछन् ।

सोमबार ९ः३० मा उद्घाटन हुने कार्यक्रममा हरेक दिन ४ वटा प्राविधिक सत्र हुनेछन् । हरेक प्राविधिक सत्र ९० मिनेटको हुनेछ जसमा ४ वटा शोधपत्रहरु पेश हुनेछन् । साँझ ४ः३० सम्म कार्यक्रम चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here