कतारमा श्रमिकको न्यूनतम पारिश्रमिक तोकियो, करार नसकिंदै काम फेर्न पाइने

काठमाडौं, १५ भदौं । नेपाली श्रमिकको प्रमुख गन्तब्य मुलुक कतारले श्रमिकहरुका लागि न्यूनतम पारिश्रमिक तोकेको छ ।

कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको न्यूनतम ज्याला कम्तिमा एक हजार कतारी रियाल तोकेको हो ।

श्रम कानूनमा संशोधन गरेर कतारले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ ।

नयाँ कानुनी व्यवस्था अनुसार रोजगारदाताले आफ्नो रोजगारी बदल्न अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । यस्तै कतार सरकारले श्रमिकले काम परिवर्तन गर्दा रोजगारदाताको अनुमति लिनुपर्ने नियम पनि खारेज गरेको छ ।

अब श्रमिकले चाहेमा सूचना दिएर करार अवधिभन्दा अघि नै पनि बिना अवरोध रोजगारदाता परिवर्तन गर्न सक्नेछन् । श्रमिकले आफूले काम गरेको अवधि अनुसार एक महिना वा दुई महिनाको पूर्व जानकारी दिनु पर्छ ।

नयाँ व्यवस्थासँगै कतारमा रहेका आप्रवासी कामदारले आफ्नो करार अवधि समाप्त हुनुअघि नै रोजगारी बदल्न सक्ने छन् । मन्त्रालयले थप रोजगारी सम्झौताहरु अध्यावधिक गर्ने जनाएको छ।

कतारमा श्रमिकले रोजगारी बदल्नुअघि रोजगारदाताले अनुमति दिनुपर्ने व्यवस्था मानवअधिकारको विरुद्धमा रहेको भन्दै विभिन्न संघसंस्थाले लामो समयदेखि विरोध गर्दै आएका थिए।

कतार सरकारले जारी गरेको न्यूनतम पारिश्रमको नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिनापछि कार्यान्वयनमा आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here