कोरोना मुक्त भएका फुटबलरको अनुभव-‘अब देशलाई जिताउनु छ’

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फुटबल खेलाडी एरिक विष्ट कोरोना मुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट अन्तर्गतका खेलका लागि खेलाडी तथा अफिसियलहरुको कोरोना परीक्षणमा विष्टमा कोरोना संक्रमण पाइएको थियो।

दुई हप्ता लामो आइसोलेसन बसाईपछि उनी कोरोना संक्रमण मुक्त भएका हुन। पाँच दिनअघि टेकुमा स्वाब दिएका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो।

उनले आफू कोरोना मुक्त भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

“मलाई संक्रमणका दौरान कुनै शारीरिक कमजोरी महसुस भएन । लक्षण देखिएको पनि थिएन । सुरुमा त पुन: परिक्षण भनिएकोले स्वाब लिंदा केहि गल्ति भएको बुझें ।

पछि पुन: स्वाब पनि दिएँ, र अगाडीको समेत पोजेटिभ नै आयो । संक्रमण भएपनि यसलाई पराजित गर्न सक्छु भन्नेमा मानसिक रुपमा तयार थिएँ । पहिलो नतिजाको नतिजा सुनेर शंका लागेपछि नै म घरमै आइसोलेसनमा बसें ।

संक्रमण भएपछि खाली समय बिताउन सामाजिक संजाल हेर्थें । मान्छेहरुले मलाई दिएको प्रतिक्रियाले निकै चित्त दुख्यो । एक खेलाडीलाई त यस्तो गर्छन भने सामान्य मानिसलाई बाहिर जिल्लामा कस्तो होला जस्तो पनि लाग्यो ।

त्यस्तो पक्षलाई ध्यान नदिएर बसिरहें । सुरुवातका केहि दिन आफ्नो परिवारको चिन्ता थियो । ममीलाई अस्पताल लग्दा मलाई सरेको भन्ने लागेकोले वहाँको धेरै चिन्ता थियो । पछि सबैको नतिजा नेगेटिभ आएपछि ढुक्क भएँ । सहजै कोरोना जान्छ भने सोचेर बसें ।

कोरोना लाग्नु दुर्भाग्य थियो । यसलाई सहज रुपमा जित्न सकें । अब पुरानै दिनजस्तो आफ्नो फुटबलमा नै मिहिनेत गर्नेछु । राष्ट्रिय टोलीको प्रशिक्षणका लागि तयारी गर्नुछ । अहिलेको अवस्थामा चाडै खेल सुरु हुने देखिन्न । त्यसैले व्यक्तिगत रुपमा नै फिटनेसलाई ध्यानमा राखेर घरमा अभ्यास गर्नेछु ।

अहिले नै सिनियर टिममा पर्ने भन्ने होइन । आफूले सकेको मिहिनेत गर्ने हो । यो उमेरमै राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी भएको छु ।

यहाँ धेरै कुरा सिक्नेछु र त्यसलाई अबलम्बन गर्नेछु । घरेलू फुटबलमा नियमित राम्रो प्रदर्शन गरेर नै राष्ट्रिय टोलीको आधार बन्ने हो । अहिले आफूलाई राम्रो खेलाडीको रुपमा विकास गर्न तल्लिन छु ।

व्यक्तिगत रुपमा भन्नुपर्दा हरेक खेलाडीझैं मेरो पनि राष्ट्रिय टोलीबाट खेल्दै साफ च्याम्पियनसिप जित्ने सपना छ । तर त्यसका लागि हामीले निकै मिहिनेत गर्नुछ । हामीले सुरुमा हाम्रो घरेलू लिग बलियो बनाउनुपर्छ जस्तो लाग्छ । धेरै स्तरीय खेलाडी भए नै हाम्रो प्रदर्शन राम्रो हुने हो ।

अहिले त कोरोनाले गर्दा खेल नै ठप्प छ । अब मैदान फर्केपछि हामीले राष्ट्रिय टोलीमात्र भन्दापनि समग्र लिगकै बारेमा सोच्नुपर्छ । लिग प्रतिस्पर्धात्मक हुँदै गए मात्र स्तरीय खेलाडी आउँछन् । त्यसपछि मात्र सफलताबारे सोच्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here