निषेधाज्ञा खुकुलो, उपत्यका प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि थप गरिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको छलफलपछि भदौ १७ गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेका हुन् ।

यसपालि अत्यावश्यक वस्तु तथा सेवालाई खुकुलो पारिएको छ। जसअनुसार अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने छ। यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको थियो।

यस्तै, निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । यस्तै, प्रशासनले निर्माण सामग्री ढुवानी गर्ने सबै साधनहरूलाई काठमाडौं प्रवेश गर्न दिने निर्णय गरेको छ ।

यसअघि निर्माण सामग्रीका सवारीसाधन राजधानी प्रवेश गर्न दिइएको थिएन। यसैगरी, अनलाइन कक्षा सञ्चालनका लागि अनुमति दिइएको छ। तर, यी सबैमा सामाजिक दूरी र स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने छ।

विमानस्थलदेखि होटलसम्म जाने सवारी पनि सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ ।

स्वाब परीक्षण गराउने व्यक्तिहरु रिपोर्ट नआउन्जेलसम्म अनिवार्यरुपमा होम क्वारेन्टिनमा बस्नुपर्नेछ । बैठकले उद्योग कलकारखाना सञ्चालन गर्न पाउने निर्णय गरेका छ ।

उद्योग कलाकार खानामा काम गर्ने कर्मचारी, कामदारहरुका लागि सम्बन्धित उद्योगले नै परिसर भित्र क्वारेन्टिन बनाउनु पर्ने भएको छ भने उनीहरुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य मापदण्डहरु पुरा गरेर काम गर्नु पर्ने बताइएको छ ।

यस्तै त्यसको अनुगमन भने जिल्ला कोभिड व्यवस्थापन केन्द्रले गर्नुपर्ने उल्लेख गरेको छ ।

होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिहरुको अभिलेख राख्ने र अनलाइन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिनेछ । सो सेवाको मापदण्ड जारी भएपछि मात्रै सेवा सञ्चालन गर्न पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here