एल्के विस युनिसेफ नेपालको नयाँ प्रतिनिधी

काठमाडौं, २४ बैशाख । नेपालका लागि युनिसेफको नयाँ प्रतिनिधीको रुपमा एल्के विस नियुक्त भएकी छिन् ।
बालबालिका र महिलाको अधिकारको क्षेत्रमा लामो अनुभव भएकी विस जर्मन नागरिक हुन ।

‘म लामो समयदेखि नेपाल आउन चाहन्थे’, विसले भनिन्, ‘म यो सुन्दर देशमा आउन र नेपालका बालबालिका र महिलाको सेवा गर्ने अवसर पाउँदा निकै खुसी छु ।’

विगत २३ वर्षमा विसले विभिन्न खालका विकासकालीन, संक्रमणकालीन र आपतकालीन परिवेशमा बालबालिका, महिला र उनीहरुको समुदायको जीवन सुधार्नका लागि काम गरेकी छिन् ।

विस सन् १९९६ मा रुवाण्डामा बाल संरक्षण अधिकृतको रुपमा युनिसेफमा प्रवेश गरेकी थिइन र त्यसपछि लाइबेरियामा बाल संरक्षण प्रमुखको रुपमा काम गरेकी थिइन् ।

सन् २००८ मा विसले उत्तरी युगाण्डामा संयुक्त राष्ट्रसंघीय देशीय टोलीका लागि वरिष्ठ शान्ति स्थापना तथा पुनर्लाभ संयोजकको रुपमा काम गरिन् भने सन् २००९ देखि २०१४ सम्म पूर्वी तथा दक्षिणी अफ्रिका क्षेत्रका लागि युनिसेफको नायव क्षेत्रीय निर्देशकको रुपमा काम गरिन् ।

सन् २०१४ मा उनी मेडागास्करका लागि युनिसेफको प्रतिनिधीको रुपमा नियुक्त भइन् नेपालका लागि प्रतिनिधीको पदमा काम शुरु गर्नुअघि उनी अगस्त २०१८ देखि विसले युनिसेफको दक्षिण एसियाली क्षेत्रीय कार्यालयमा कायम मुकायम नायव क्षेत्रीय निर्देशकको रुपमा काम गरिन् ।

विसले म्युनिख विश्वविद्यालयबाट सामाजिक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर र हार्वर्ड विश्वविद्यालयको केनेडी स्कूल अफ गभर्मेन्टबाट जनप्रशासनमा स्नातकोत्तर गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here