ब्राजिललाई उछिन्दै भारत कोरोना संक्रमित धेरै हुने देशको दोस्रो स्थानमा

काठमाडौं, २२ भदौं । कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीको दोस्रो स्थान आइपुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिन्दै दोस्रोमा आएको हो । सोमवार विहानसम्म ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । यसैबीच भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा फेरि नयाँ कीर्तिमान कायम हुन थालेको छ ।

यसअघि आइतबार ९० हजार ६०० जनामा संक्रमण पुष्टि भएकोमा सोमबार विहानसम्म ९१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

सोमबार ९१ हजार ७२३ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख २ हजार ५६२ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ३२ लाख ४७ हजार २९७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ५७८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १००८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७१ हजार ६८७ पुगेको छ ।

यसैबीच, भारत कोरोनाका कारण धेरै मृत्यु हुने देशहरुको सूचिमा भने अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । लकडाउनमा रहेको भारत लुजडाउनको नीतिमा गएपछि तीव्र गति कोरोना संक्रमण फैलिएको हो । भारत १ अर्ब ३८ जनसंख्या भएको देश हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here