जेट एयरवेजका कर्मचारीलाई पूर्व अध्यक्ष गोयलले पठाए भावुक पत्र

काठमाडौं २५ बैशाख । चरम आर्थिक संकटमा फसेपछि केहि साता अघि उडान बन्द गरेको जेट एयरवेजका संस्थापक तथा पूर्व अध्यक्ष नरेश गोयलले कर्मचारीहरुलाई एक भावुक पत्र लेखेका छन् ।

गोयलको यो पत्र उनका छोरा निभान गोयलले सबै कर्मचारीहरुलाई पठाएका हुन् । पत्रमा उनले जेट एयरवेजका सेवाहरु फेरी सुरु हुने आशा व्यक्त गरेको बताइएको छ ।

आर्थिक संकटबाट जुधिरहेको एयरवेजलाई बैंकहरुले थप कर्जा नदिएपछि पल्टिएको थियो ।

सेवाहरु फेरि सुरु हुने आशा

पत्रमा गोयलले जेटको लागि आफूले सक्नेजति सबै प्रयास र त्याग गर्ने बताएका छन् । कम्पनीका पूर्व अध्यक्षले बैंकहरुको अगुवाइमा एयरवेज पुन सञ्चालन गर्ने योजना सफल हुने र १० मे सम्म कोही लगानीकर्ता आउने विश्वास व्यक्त गरेका छन् ।

गोयलले पत्रमा लेखेका छन्, ‘नीता र मलाई बीएलआरपीको समयसीमा अनुसार १० मेसम्ममा कुनै सकरात्मक नतिजा अगाडि आउनेछ भन्ने पूर्ण विश्वास छ । तपाईं जस्तै मेरो पनि यहि इच्छा छ । हामी अघिल्लो हप्ताको बाक्लो बादलको बीचबाट सुर्य फेरी बाहिर निस्कने आशा गर्छौं ।’

जेटका संस्थापकले पत्रमा कर्मचारीहरुले गरेको त्याग धेरै ठूलो भएको पनि बताएका छन् ।

गोयलले पत्रमा पछिल्लो दुई महिनादेखि कर्मचारीहरुले तलब नपाएकोमा आफूलाई दुख लागेको पनि उल्लेख गरेका छन् ।

सन् १९९३मा गोयलले एउटा विमानबाट सुरु गरेको जेट एयरवेजको बन्द हुन अगाडि सम्म १२० वटा विमान थिए । जेट एयरवेजमा १६ हजारभन्दा धेरै कर्मचारी रहेका छन् ।

१ अर्ब २० करोड डलरभन्दा धेरै ऋणमा डुवेपछि एयरवेज बन्द भएको थियो । धेरै कर्मचारीहरु एयरवेजको उडान फेरी सुरु हुने आशामा छन् भने केहि अन्य एयरलाइन्स तर्फ लागेका छन् ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here