विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुन्छ : मन्त्री पुन

रोल्पा, २४ भदौ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन् ।

प्रेस सङ्गठन जिल्ला शाखाले लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए ।

कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट पारे ।

“कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेको भन्दै चलाइएको हल्लामा सत्यता छैन”, मन्त्री पुनले भने ।

यसअघि मन्त्री पुन जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए । उनले सुरक्षित जनता आवास कार्यक्रमअन्तर्गत फुसको छाना विस्थापन कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रमलगायतका विषयमा सरोकारवालासँग परामर्श गरेका थिए । –रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here