नेपाल आउने पर्यटकलाई तीन दिनमात्र क्वारेन्टिनमा राखेर निर्वाध घुमफिर गर्न देऊः परिसंघ

काठमाडौं, २८ भदौ । पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्न नेपाल उद्योग परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीसँग माग गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सनिबार भएको छलफलमा परिसंघका पदाधिकारीहरुले नेपाल आउने पर्यटकलाई १४ दिन नभइ तीन दिन मात्र क्वारेन्टिनमा राख्न पनि सुझाएका थिए ।

कुनै पनि पर्यटक नेपाल प्रवेष गर्दा हाल भएको चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने र तीनदिनको क्वारेन्टाइन पछि सम्बन्धित पर्यटकको पिसिआर टेष्ट गरी परिक्षण नेगेटिभ आएमा निर्वाधरुपमा घुमफिर गर्ने व्यवस्था मिलाउनु पर्ने सम्बन्धमा छलफल भएको परिसंघले जनाएको छ ।

यसबाट नराम्ररी प्रभावित पर्यटन क्षेत्रमा केही राहत महशुस भई पर्यटन क्षेत्रका गतिविधिहरु विस्तारै चलायमान हुने परिसंंघको धारणा रहेको छ ।

त्यसैगरी, संक्रमण रोक्नको लागि सुविधा सम्पन्न उपचार केन्द्रहरुको स्थापना, राम्रो क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था गर्नु पर्ने धारणा परिसंघको थियो । यसको लागि निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरु तथा होटलहरुलाई आवद्ध गराई उपचार तथा क्वारेन्टाइन र आइसोलेशनका सेवाहरु निर्वाधरुपमा प्रदान गर्ने वातावरण बनाइदिनको लागि परिसंघले राष्ट्रपति समक्ष अनुरोध गरेको छ ।

कर्मचारीहरु र कामदारको मनोवल उच्च बनाई सुरक्षा उपायहरु अवलम्बन गरी कोभिडको साथमा नै उद्योग व्यवसाय तथा बजारहरु सञ्चालन गर्न उसले आग्रह गरेको हो ।

कोभिडको महामारीबाट जोगिनको लागि लकडाउन वा निषेधाज्ञाजस्ता व्यवस्थाहरु अवलम्बन गरी संक्रमण रोकथामको प्रयास गर्नु भन्दा सुरक्षा उपायहरु अवलम्बन गरी कोभिडको साथमा नै उद्योग व्यवसाय तथा बजारहरु सञ्चालन गर्न उसले सुझाव दिएको हो ।

विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायहरुले भोग्नु परेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित रहेको परिसंघले बताएको छ ।

राजश्व तिर्ने म्याद एक महिना थप्न माग
हाल सृजना भएको असहज परिस्थितिलाई ध्यानमा राखी राजश्व दाखिला गर्नका लागि तोकिएको समयावधी भन्दा एक महिना बढीको समय थप गर्ने व्यवस्थाको लागि समेत व्यवसायीले राष्ट्रपतिलाई अनुरोध गरेका थिए ।
यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा राजश्व दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीहरुलाई सहज हुने धारणा परिसंघको रहेको छ ।

छलफलमा उद्योग व्यवसायहरु पूर्ण सञ्चालनको माग गर्दै परिसंघका पधाधिकारीहरुले उद्योगमा कार्यरत कर्मचारी र मज्दुरहरुलाई सरकारले तोकेका सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्न लगाउने र कोभिडको सक्रमणबाट जोगाउनको लागि उद्योगी व्यवसायहरु प्रतिवद्ध रहेको जानकारी गराएका थिए ।

परिसंघले यस्तो विषम परिस्थितिमा उ्रद्योगमा कार्यरत कर्मचारी र कामदारहरुको हौसला बढाई काममा लगाउनु पर्ने धारणा राख्दै यदि उद्योगहरुमा कार्यरत कर्मचारी वा कामदारमा सक्रमण भेटिएमा कन्ट्याक ट्रेसिङको आधारमा कर्मचारी तथा कामदारको पिसिआर टेष्ट गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्थाको लागि राष्ट्रपति समक्ष अनुरोध गरेको छ ।

कोभिडको महामारीबाट पर्यटन क्षेत्रपनि नराम्ररी प्रभावित भएको परिसंघका पदाधिकारीहरुले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

छलफलमा राष्ट्रपतिबाट उद्योगी व्यवसायीहरुको सुझावहरुलाई सकारात्मकरुपमा लिई त्यसको कार्यान्वयमा पनि सहयोग गर्ने धारणा राखेको परिसंघको भनाइ छ ।

सम्बन्धितः

क्वारेन्टिनमा प्रयोग गर्न थप ३१ होटललाई अनुमति (सूचीसहित)

अब सर्तसहितको उद्धार उडान, यस्तो छ होटल क्वारेन्टिको सूची र मूल्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here