सकियो कुलमानको कार्यकाल, सबैको चासो अब प्राधिकरणको नयाँ कार्यकारी निर्देशक को ?

काठमाडौं, २८ भदौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिएको छ ।

२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सकेर सोमबार बिदा हुँदैछन् ।

कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणमा नयाँ प्रमुख को बन्छ भन्ने चासो बढेको छ। सम्भवतः सार्वजनिक संस्थानमा नियुक्त भएपछि सबैभन्दा बढी वाहवाही पाएका कुलमानको पक्षमा ठूलो जनमत पुनः नियुक्ति गर्नुपर्ने रहेको छ ।

सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा लैजाने प्रस्ताव पनि मन्त्रालयले तयार नै पारेको छैन, स्रोत भन्छ । यद्यपि, उर्जा मन्त्री वर्षमान पुन घिसिङलाई नै दाहोर्‍याउने पक्षमा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल पनि घिसिङकै पक्षमा रहेको बताइएको छ । मन्त्री पुनले विकल्पमा भने विद्युत विकास विभागका निर्देशक नविन सिंहलाई तयार पारेको पनि बताइन्छ ।

किनकी कुलमानले आफ्नो कार्यकालमा नेपाललाई लोडसेडिङ मुक्त बनाउन सफल भएका छन् । कुलमानको ४ वर्षे कार्यकाल सकिए पनि अब प्राधिकरणलाई कसले हाँक्ने छ भन्नेमा सरकार अझै टुंगोमा पुगिसकेको छैन । कुलमान २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरण प्रवेश गरेका थिए ।

उनलाई तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका हुन् । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने भएकाले भोलीको बैठकबाट टुंगो लाग्ने अनुमान छ । नेपालमा १८ घण्टासम्म रहेको लोडसेडिङ हटाएका कुलमान यो चार वर्ष सबैभन्दा चर्चामा रहे ।

उनलाई आमसंचार माध्यमदेखि आम मानिसले पनि उत्तिकै माया गरेका छन् । प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेका घिसिङको पुनः नियुक्तिमा सरकारले कदम के हुन्छ, त्यो भने हेर्न बाँकि छ ।

दैनिक १८ घण्टाको लोडसेडिङ हटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको जस घिसिङ नेतृत्वलाई जनताले दिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here