सीमा नाका असोज मसान्तसम्म बन्द, यातायात, उडान, होटल १ गतेदेखि नै खुल्ने

काठमाडौं, ३० भदौं । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप दुई नाका खोल्ने निर्णय पनि गरेको छ । यसअघि १० वटा नाका मात्रै खुला भएकोमा अब १२ वटा नाका खुल्ने छन् ।

इलामको पशुपतिनगर र दार्चुलाका दुई नाका थपेर १२ वटा खुला गरिएको छ । त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

यस्तै अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ ।

जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज १ गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खोल्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

सरकारले लामो दूरीका यातायातका साधन १ असोजबाटै चलाउन सकिने गरी निर्णय सार्वजनिक गरेको छ ।

यसअघि सोमबार मन्त्रिपरिषद् बैठकपछि भने मन्त्रिहरुले लामो दूरीका यातायात र आन्तरिक उडान ५ असोजबाट खुल्ने निर्णय भएको बताएका थिए ।

तर, औपचारिक निर्णय सार्वजनिक गर्दै सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले १ असोजबाटै यी सेवा संचालनमा आउने निर्णय भएको बताएका छन् ।

उनका अनुसार सार्वजनिक यातायातमा भने भाडा ५० प्रतिशत बढी लिन पाइने भएको छ ।

स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न पाइने छ । उनका अनुसार संक्रमणको जोखिम बढेमा भने स्थानीय प्रशासनबाटै आवश्यक निर्णयहरु हुनेछन् ।

बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ। जहाजमा समेत यस्तै गरी यात्रा गर्न पाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here