पर्यटन क्षेत्रको संकट टार्न विशेष व्यवस्था गर्न परिसंघको माग

काठमाडौं, २ असोज । कोरोनाभाइरस र व्यवसाय सञ्चालनमा लागेको प्रतिवन्धका कारण धरासायी बन्दै गएको पर्यटनलाई संकटबाट उठाउनको लागि विशेष व्यवस्था गर्न नेपाल उद्योग परिसंघले सरकारसँग माग गरेको छ ।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेट गरी पर्यटन क्षेत्रले कोभिड १९ को कारणबाट व्यहोरिरहेको समस्याका बारेमा छलफल गरेका हुन् ।

छलफलमा अध्यक्ष सतिशकुमार मोर र वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालको उपस्थिति रहेको परिसंघले बताएको छ ।

अहिलेको अवस्थामा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नु पर्ने र होटलहरुलाई गुणस्तर र सेवा सुविधाको आधारमा शुल्क निर्धारण गरी क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाउनको लागि प्रोत्साहन गर्नु पर्ने धारणा परिसंघले राखेको थियो ।

त्यसैगरी उड्डयन क्षेत्र विगत ६ महिनादेखि नराम्ररी प्रभावित भएकोले यसमा आवद्ध लगानी कर्ताहरु निरास भइरहेका छन् । रोजगारीको ठूलो हिस्सा ओगटेको उड्डयन क्षेत्रमा देखिएको अन्योल र सो क्षेत्रका जायज मागहरुलाई सरकारले अविलम्ब सम्बोधन गर्नु पर्ने माग पनि उसको छ ।

हाल उड्डयनमा सरकारले तोकेको यात्रु संख्या र सो यात्रु संख्याको आधारमा तोकिएको भाडादर समय सापेक्ष र व्यवहारिक नभएकोले यसलाई पुनरविचार गरी पुनः दर निर्धाण गर्न उसले मन्त्री समक्ष अनुरोध गरेको छ ।

त्यसैगरी विदेशबाट आउने पर्यटकलाई हाल चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने बारे परिसंघले मन्त्रीसँग छलफल गरेको बताइएको छ ।

विगत ७२ घण्टा भित्र पिसिआर टेष्ट गरी रिपोर्ट नेगेटिभ भएको यात्रु विदेशबाट आएमा उसलाई सहज रुपमा गन्तव्यसम्म जाने व्यवस्था सरकारले गरेको मन्त्री भट्टराईले बताए ।

पर्यटन तथा उड्डयन व्यवसाय र यसमा आवद्ध कर्मचारी तथा मजदुरहरु नराम्ररी प्रभावित भएकोले यसलाई गम्भिरतापूर्वक लिनको लागि परिसंघले मन्त्रीसमक्ष अनुरोध गरेको छ ।

पर्यटन तथा उड्डयन क्षेत्रले व्यहोर्नु परेका समस्याहरुमा केन्द्रित भई परिसंघले आगामी आइतवार पर्यटन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग वेबिनारको आयोजना समेत गर्ने भएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here