कात्तिक ७ गतेभित्र ‘क्लिन फिड’ लागू गर्न निर्देशन, विदेशी च्यानलमा विज्ञापन बजाउन नपाइने

काठमाडौं, ५ असोज । आउँदो कात्तिक ७ गतेदेखि ‘क्लिन फिड’ अर्थात् विज्ञापनरहित विदेशी च्यानल प्रसारण हुने भएको छ ।

एक महिनापछि नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित ‘क्लिन फिड’ कार्यान्वयनमा आउने भएको हो ।

सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको छ ।

नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलको प्रशारण रोक्न मन्त्रालयले बनाएको योजना पनि समितिले मागेको छ । समितिले नेपालबाट विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रशारण गर्ने नीति (फिड इन) नलिन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि सुरु हुँदैछ । त्यसैले समितिले उक्त मिति भन्दा एक दिनअघि नै नेपालमा क्लिन फिड सुरु गर्न निर्देशन दिएको हो ।

क्लिन फिड कार्यान्वयन भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापन बजाउन पाइने छैन ।

गत कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्नुपर्ने प्रावधान राखिएको छ ।

‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित प्रसारण गर्नुपर्ने छ,’ उक्त ऐनको दफा ६ मा भनिएको छ, ‘सम्झौता गरिसकेका संस्थाहरूले ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित रुपमा प्रसारण गर्नुपर्नेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here