सडकका २१ ठेक्का रद्द, शैलुङ र युनाइटेड बिल्डर्सलाई कालोसूचीमा राख्ने चेतावनी

काठमाडौं, ७ असोज । सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ ।

सम्झौताअनुसारको म्याद समाप्त भएर पटक–पटक म्याद थप गरेर पनि लामो अवधिसम्म कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालयले सर्तनामाबमोजिम काम गर्न ठेक्का सम्झौता गरेका १७ निर्माण कम्पनीसँगको ठेक्का अन्त्य गरिएको सूचना आज प्रकाशित गरेको हो ।
आर्थिक वर्ष २०६५/६६ देखि २०७०/७१ सम्मका ठेक्का सम्झौता गरेर काम नगर्ने कम्पनीसँगको ठेक्का तोड्दै सडक डिभिजन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ बमोजिम बैंक जमानत जफत गरी बाँकी कामको रकम सरकारी बाँकी सरह असुलउपर गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ ।

मकवानपुर, बारा र पर्साका विभिन्न योजनाको ठेक्का तोडिएको सडक डिभिजनले जानकारी दिएको छ । डिभिजन कार्यालयले मकवानपुरका सात, पर्साका छ, बाराका तीन र काठमाडौँको एक निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको सूचना प्रकाशन गरेर जनाएको छ ।

त्यस्तै सडक आयोजना अलपत्र पार्ने शैलुङ–दिवा जेभी र युनाइटेड बिल्डर्सलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी समेत हुन् । राजनीतिक पहुँचकै आधारमा विभिन्न सडक आयोजनाको म्याद थप्ने तर कामै नगर्ने प्रवृत्ति दोहोर्याउँदै आएको शैलुङलाई सरकारले यसपटक भने कारबाही गर्ने भएको हो ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सूचना जारी गर्दै पटक–पटक थपिएको म्यादमा समेत काम सम्पन्न गर्न चासो नदेखाएके भन्दै ती कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।

आयोजनाले सम्बन्धित ठेकेदार कम्पनीलाई ७ दिन भित्र उपस्थित हुन निर्देशन दिएको छ ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here