दुई महिनामा ४१ करोडभन्दा बढीको मास्क, स्यानिटाइजर आयात

काठमाडौं, ९ असोज । कोरोना भाइरसको महामारीसँगै नेपालमा मास्क तथा स्यानिटाइजरको आयातमा वृद्धि भएको छ ।

महामारी फैलिएसँगै मास्क र स्यानिटाइजरको आयातमा वृद्धि भएको भन्सार विभागको तथ्यांकमा उल्लेख ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/ ०७८ को दुई महिनाको अवधिमा ४१ करोडभन्दा बढीको मास्क तथा स्यानिटाइजर आयात भएको छ ।

तथ्यांक अनुसार ६२ वटा स्यानिटाइजर उद्योग दर्ता भएतापनि २ महिनामा साढे २६ करोड बराबरको स्यानिटाइजर भित्रिएको छ ।

२ महिनामा विभिन्न ७ देशबाट ७० लाख १३ हजार लिटर बढी स्यानिटाइजर नेपालमा भित्रिएको हो । जसमा सबैभन्दा धेरै भारतबाट भित्रिएको छ । भारतपछि चीन, भियतनाम, युएई, दक्षिण कोरिया, न्युजिल्याण्ड र जापानबाट धेरै स्यानिटाइजर आयात भएको छ ।

यसैगरी विभिन्न २३ देशबाट साढे १४ करोड बढीको फेस मास्क भित्रिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीलाई रोकथाम तथा न्यूनीकरण गर्न अनिवार्य रूपमा मास्क तथा ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्न भनेको छ ।

संगठनको यस्तो आह्वानलाई विश्वका अधिकांश मुलुकले समर्थन जनाएसँगै यसको प्रयोगमा व्यापकता आएको छ ।

सामान्य अवस्थाको रुघाखोकी तथा धुलोधुवाँका कारण नेपालमा मास्क केही वर्ष अघिदेखि नै प्रचलनमा रहेको थियो, यद्यपि ठूलो मात्रामा आयात भने गर्नुपरेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here