नेपालमा आउने पर्यटकलाई कोरोना नेगेटिभ रिपोर्टसहित सात दिनको क्वारेन्टिन अनिवार्य

काठमाडौं, १३ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्वतारोहण तथा पदायात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ।

सरकारले कात्तिक १ कात्तिकदेखि पर्वतारोहण तथा पदयात्रा गतिविधि खुला गर्ने गरी २९ भदौमा गरेको निर्णय अनुसार मापदण्ड जारी गरेको हो ।

यही असोज ९ गते स्वीकृत भएको मापदण्डमा नेपाल आउने पर्यटकको लागि शर्तैशर्त राखिएको छ ।

शर्त अनुसार पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ ।

तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ ।

नेपाल आउजे पर्यटकले कम्तिमा ७ दिन क्वारेन्टिनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको कागजात पेश गर्नुपर्ने, कोरोनासम्बन्धी प्रयोजनका लागि कम्तिमा प्रतिव्यक्ति पाँच हजार अमेरिकी डलर (करीब रू. ६ लाख)को बीमा गरिएको कागजात पेश गर्नुपर्नेछ ।

नेपाल प्रवेशपश्चात पर्यटकले न्युनतम ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ। होटल क्वारेन्टिन अवधिको पाँचौ दिन पर्यटककै खर्चमा पिसीआर परीक्षण गर्नुपर्ने र नेगेटिभ रिपोर्ट आएमा पदयात्रा वा पर्वतारोहणमा जान पाइने जनाइएको छ।

तर नतिजा पोजेटिभ आएमा नेगेटिभ नआएसम्मको अवधिमा होटल क्वारेन्टिनमा बस्नुपर्ने मापदण्डमा उल्लेख छ।

मापदण्डमा पर्वतारोहण वा पदयात्रामा जाने नेपाली टोलीकाे पनि अनिवार्य रूपमा कम्तिमा रू. १ लाखको कोरोना बीमा गराउनुपर्ने, स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here