यात्रुको चाप बढेसँगै आन्तरिक उडानको संख्या बढ्यो

काठमाडौं, १४ असोज । आन्तरिक उडानमा यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै बिहीबारबाट लागू हुने गरी आन्तरिक उडानको संख्या बढाइएको हो।

तर, यो संख्यामा अझै वृद्धि हुनसक्ने प्राधिकरणको भनाइ छ।

यसअघि प्राधिकरणले २५ प्रतिशत उडान गर्दै आएको थियो भने अहिले बढाएर ३५ देखि ४० प्रतिशत उडान पुर्‍याउने गरी उडान संख्या बढाइएको छ।

यात्रु बढ्नुको मुख्य कारण हवाइ भाडा कम र स्वास्थ्य सुरक्षा राम्रो भएको वायुसेवा कम्पनीहरुको दाबी छ।

आन्तरिक उडानमा बढी उडान गरिरहेका बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले यात्रुको आउजाउ राम्रो भएको बताएका छन्।

वृद्धि भएको संख्याअनुसार अब बुद्धले २५ उडान गर्न पाउने यसअघि १८ उडान गर्दै आएको थियो । १२ उडान अनुमति पाएको यतीले अब दैनिक १८ उडान गर्न पाउने भएको छ।

श्रीले पहिले ६ वटा उडानको अनुमति पाएकोमा अब दैनिक १२ वटा गर्न पाउने भएको छ। यसैगरी सिम्रिक र सौर्यलाई भने दैनिक २ वटा उडानको अनुमति दिइएको छ।

साथै दुर्गमका उडान गर्ने सीता, तारा र समिटले पनि अब दैनिक ४/४ वटा उडान गर्न पाउने प्राधिकरणले जनाएको छ।

सरकारले असोज १ देखि नै लामो दूरीको सार्वजनिक यातायात खोले पनि ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्थाले यात्रु हवाइ यात्रामा आकर्षण भएको हुनसक्ने वायुसेवा कम्पनीले बताएका छन्।