प्रदेश ५ को राजधानी दाङको भालुवाङ, नाम लुम्बिनी राख्ने प्रस्ताव पेस

काठमाडौं, १६ असोज । प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटेसँगै शुक्रबार बसेको प्रदेशसभा बैठकमा यो प्रस्ताव पेस गरिएको छ ।

प्रदेश सभाको अर्को बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेश पाँचको राजधानी र नामाकरणबारे आन्तरिक मालिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले यो प्रस्ताव गरेका छन् । राजधानी भने दाङको देउखुरी क्षेत्रमा रहने प्रस्ताव पनि गरिएको छ ।

यसअघि राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोक्न ढिलाई भइरहेको थियो । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो ।

प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।

त्यसो त पार्टी एकीकरणअघि पूर्व माओवादीले पनि प्रदेश ५ को राजधानी दाङमा बनाउने औपचारिक निर्णय गरिसकेको थियो । तर, पूर्वएमालेभित्र राजधानी दाङ वा बुटवल राख्ने विषयमा मतभेद रहँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here