नेपालमा ५ सय मेगावाटको जलविद्युत् आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव

काठमाडौं, १६ असोज । अष्ट्रेलियनको एक कम्पनीले नेपालमा पाँच सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा जनाएको छ ।

अष्ट्रेलियनको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैँ गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पेस गरेको हो ।

ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच भर्चुअल बैठक समेत भएको मन्त्रालयले जनाएको छ ।नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडलाई कार्यकाल सकेर स्वदेश फर्किने क्रममा मन्त्रालयमा भएको बिदाई भेट कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले उक्त प्रस्तावलाई नेपालका लागि सकरात्मक भएको बताए ।

अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि नेपाल सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट गरे ।

कम्पनीका अध्यक्ष एन्ड्रीय फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी अक्टुबर १२ मा नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गरे ।

तीन दिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ ।

‘नेपालको जलविद्युतमा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफैं गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ’, मन्त्री पुनले भने, ‘उहाँहरु आउनुभएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौं र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानूनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौता गर्छौं ।’

मन्त्री पुनले अष्ट्रेलिया नेपालको असल र महत्वपूर्ण मित्र भएको चर्चा गर्दै नेपालको समग्र विकास तथा जलविद्युत क्षेत्रको विकासमा पुर्‍याउँदै आएको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

अष्ट्रेलियाले नेपालमा पछिल्लोपटक एकीकृत नदी बेपसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएकामा उनले प्रशंसा गरे ।

मन्त्री पुनले राजदूत बडको कार्यकाल कुशलतापूर्वक सम्पन्न भएकामा बधाई दिँदै आगामी दिनमा सम्हाल्ने जिम्मेवारी सफलताको कामना गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here